साना जलविद्युत्सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन शुरू : देशभित्रै जलविद्युत् प्रविधि उत्पादन आवश्यक

    1899

    चैत १५, काठमाडौं । साना जलविद्युत् आयोजनाको विकासका लागि दक्षिण एशियाली राष्ट्रहरूबीच आपसी सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले मङ्गलवारदेखि काठमाडौंमा अन्तरराष्ट्रिय सम्मेलन शुरू भएको छ । ‘स्मल हाइड्रोपावर डेभलपमेण्ट प्लानिङ फर साउथ एशियन कण्ट्रिज’ विषयक सो सम्मेलन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र चीनको हाङ्चोउ रिजनल सेण्टर फर स्मल हाइड्रोपावर (एचआरसी)को संयुक्त आयोजनामा भएको हो ।

    सम्मेलनमा माल्दिभ्सबाहेक दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क)का सबै देश र चीनको सहभागिता रहेको छ । बिहीवारसम्म चल्ने सम्मेलनमा जलविद्युत् क्षेत्रसम्बद्ध ३० जनाको सहभागिता रहेको आयोजक नाष्टले बताएको छ । कार्यक्रम विशेषतः दक्षिण एशियाली देशहरूको साना जलविद्युत्का क्षेत्रमा चीनको आर्थिक प्राविधिक सहयोगको सम्भावना पहिल्याउने उद्देश्यले आयोजना गरिएको हो । यसबाहेक, सम्मेलनमा सहभागीहरूबीच आआफ्ना देशको जलविद्युत् विकासको स्थितिका सम्बन्धमा अनुभव आदानप्रदानको कार्यक्रम पनि रहेको छ ।

    सम्मेलनलाई सम्बोधन गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युत् आयोजना निर्माण अघि बढाउने अभियान चलेको सन्दर्भमा देशभित्रै यससम्बन्धी प्रविधि उत्पादन आवश्यक रहेको बताए । राज्यका साथै स्थानीयवासीसमेतको लगानीमा बन्ने लघुजलविद्युत् आयोजनाहरू प्रविधिको सुलभ उपलब्धता नहुँदा बन्द हुने गरेको उनले उल्लेख गरे । ‘वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको संयोजनमा राज्य र स्थानीय बसिन्दाको लगानीमा राष्ट्रिय प्रसारण लाइन नपुगेका दूरदराजमा लघुजलविद्युत् स्थापना भएका छन्,’ उनले भने, ‘तर, देशभित्रै सहज र सुलभ रूपमा आवश्यक प्रविधिको उपलब्धता नहुँदा शुरू भएको ६ महीनामै धेरैजसो थन्किएका छन् ।’

    आफूले २०६४ सालमा थालेको ‘रुकुम उज्यालो’ कार्यक्रमअन्तर्गत बनेका ८४ मध्ये हाल करीब ३० ओटा मात्रै जलविद्युत् आयोजना सञ्चालनमा रहेको पनि उनले बताए ।

    साना आयोजनाहरूमा लाग्ने प्रतिकिलोवाट लगानी घटाउनेतर्फ पनि यस्ता सम्मेलनले उपाय निकाल्नुपर्नेमा मन्त्री शर्माको जोड थियो । ‘सबै जनताको आर्थिक रूपमै लगानी गर्नसक्ने अवस्था नहुन पनि सक्छ,’ उनले भने, ‘साना जलविद्युत् आयोजनाहरूमा गरीब जनताको श्रमलाई नै लगानीका रूपमा रूपान्तरण गर्नसके विद्युत् विकासबाट जनतालाई धनी बनाउन सकिन्छ ।’

    सम्मेलनमा नेपालका लागि चीनका कार्यवाहक राजदूत फेङ वेइले चीनले दक्षिण एशियाली मुलुकहरूको गरीबी निवारणका लागि जलविद्युत् उत्पादनमा सहयोग गर्न चाहेको बताए । ‘हामी व्यावसायिक तालीम, प्राविधिक ज्ञान र अनुभवको आदान–प्रदानका माध्यमबाट यस क्षेत्रमा साना जलविद्युत्को विकास गर्न चाहन्छौं,’ उनले भने, ‘त्यसअन्तर्गत सन् २०२० सम्ममा २ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।’

    यस क्षेत्रमा स्वच्छ ऊर्जा उत्पादनलाई जोड दिई कोइलाको प्रयोग घटाउने उद्देश्यले प्रचुर सम्भावना रहेका साना जलविद्युत् विकासमा सहयोग गर्न चाहेको उनको भनाइ थियो ।

    सोही सन्दर्भमा गतवर्ष चीनमा एक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपालका पाँचसहित सार्क राष्ट्रका ऊर्जाक्षेत्रका जानकार तथा प्रवर्द्धक गरी ५० जना सहभागी थिए । कार्यक्रममा सहभागीले आ–आफ्ना देशमा रहेको ऊर्जा विकासको अवस्था र सम्भावनाबारे चर्चा गरेका थिए । सोही कार्यक्रमबाट प्राप्त वस्तुस्थितिका आधारमा पर्यावरण जोगाउँदै सार्क राष्ट्रबीच आपसी फाइदाका विषयमा योगदान गर्न चाहेको कार्यवाहक राजदूतले बताए ।

    सम्मेलनमा भविष्यका लागि एकअर्काको सहयोगको सम्भावना खोजी गरिने र सम्भावना भएका विषयमा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको नाष्टका प्रविधि विभाग प्रमुख सुरेशकुमार ढुङ्गेलले बताए ।

    सम्मेलनमा आ–आफ्नो देशको जलविद्युत् विकासको स्थितिका साथै आइपरेका समस्याको समाधान कसरी गरियो भन्ने सम्बन्धमा नेपालका तर्फबाट दुई र अन्य देशका तर्पmबाट एक एक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

    स्रोत:अभियान