विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको ३२ औं वार्षिकोत्सव समारोहमा दिनु भएको मन्तव्य

    3119

    ऊर्जा क्षेत्रको गौरवमय यात्रामा नेपाल विद्युत प्राधिकरणले सफलतापूर्वक ३२औं वर्ष पूरा गरेको सु–अवसरमा यहाँहरुसमक्ष यो वार्षिक प्रतिवेदन प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ ।

    प्राधिकरणबाट विगत वर्षमा सम्पादन गरिएका मुख्य–मुख्य कार्य एवं उपलब्धिका साथै प्राधिकरणका विद्यमान चुनौतीहरुलाई अवसरको रुपमा बदली संस्थालाई सबल र सक्षमरुपमा अघि बढाउन ल्याइएका कार्ययोजना र प्रतिवद्धताहरु समेतलाई आम जनतासमक्ष पुर्‍याउन यस ३२औं वार्षिक उत्सवले विशेष अवसर प्रदान गरेको छ ।

    नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा उज्यालो नेपाल अभियानअन्तर्गत लोड्सेडिङग न्यूनीकरण गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरी नियमित विद्युत आपूर्ति गर्न, चुहावट घटाउन र वित्तीय अवस्थामा सुधार ल्याउन ऐतिहासिक सफलता प्राप्‍त गरेको छ ।

    आम उपभोक्तालाई नियमितरुपमा विद्युत सेवा उपलब्ध गराउने प्राधिकरणको प्रयासस्वरुप सुक्खायाममा समेत काठमाडौ उपत्यका र पोखरालगायतका शहरी क्षेत्रहरुमा २४सै घण्टा नियमित विद्युत आपूर्ति गर्न सफलता मिलेको छ ।

    औद्योगिक ग्राहकका हकमा पिकबाहेकको समयमा नियमित विद्युत आपूर्ति गरिएको छ भने अन्य क्षेत्रको लोडशेडिङ्गको समयावधिलाई समेत उल्लेख्यरुपमा घटाइएको छ ।

    आर्थिक वर्ष २०७३/७४ मा प्राधिकरणले २ अर्ब ४० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ भने खुद नोक्सानी १ अर्बभन्दा कम रहनुले आगामी वर्ष प्राधिकरणलाई नाफामूलक संस्थाको रुपमा सञ्चालन गर्न सकिने विश्‍वास गरिएको छ ।

    संस्थाले सम्पादन गरेको कामकारबाहीको समीक्षा एवं भावी कार्यदिशा प्रस्तुत गर्नुभन्दा अघि विद्युत दुर्घटना एवं कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाउनुहुने नागरिक तथा प्राधिकरणका कर्मचारीहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।