कुलमानको कुशलता : विद्युत प्राधिकरण सञ्चालन नाफामा

    1897

    काठमाडौं- विद्युत उत्पादन, प्रसारण र वितरणको एकाधिकारप्राप्त पूर्ण सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरण सञ्चालन मुनाफामा गएको छ । प्राधिकरणले गत आर्थिक वर्ष ०७३-७४मा दुई अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो । प्राधिकरण आर्थिक वर्ष ०७२-७३मा तीन अर्ब ६ करोड ३९ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा थियो ।
    तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले गत वर्षको वार्षिकोत्सवमा प्राधिकरणलाई नाफामा लैजाने घोषणा गरेका थिए त्यसपछि प्राधिकरणको व्यवस्थापकीय सुधारको प्रतिबद्धा सहित कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान आफ्नो व्यवस्थापकीय कुशलता देखाएका छन् ।
    प्राधिकरणको खूद नोक्सानी पनि एक अर्बभन्दा कम भएको छ । आव ०७२-७३मा ८ अर्ब ८९ करोट खूद घाटामा रहेको प्राधिकरणको नाफा आव ०७३÷७४मा उलेख्खरुपमा घटेर ९७ करोड ८९ लाख रुपैयमा सीमित हुन पुगेको छ ।
    विद्युत चुहावट नूनीकरण, आयातीत विद्युतको औसत खरिद दरमा कमी, विद्युत महसुलमा समायोजन, प्रमुख शहरमा नियमित विद्युत आपूर्ति र आशिंकरुपमा भएको वित्तिय पुर्नसंरचना लगायतका संस्थागत सुधारले खुद नोक्सानी न्यून गर्न सकिएको घिसिङले बताए । अघिल्लो अवमा विद्युत बिक्री तथा अन्य आम्दानीबाट ३५ अर्ब सात करोड ३५ लाख आम्दानी गरेको प्राधिकरणले गत आबमा बढाएर ५० अर्ब २२ करोड ९४ लाख रुपैयाँ पुर्याएको छ । प्राधिकरणको अघिल्लो वर्षको तुलनामा प्राधिकरणको समग्र आम्दानी करिव ४३.२१ प्रतिशतले बढेको छ । प्राधिकरणले गत आर्थिक वर्षमा निजी जलविद्युत उत्पादक र भारतसँग ४५ अर्ब ५७ करोड २० लाख रुपैयाँको खरिद गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २६.२८ प्रतिशतले बृद्धि भएको हो । घिसिङले आगामी दिनमा सक्षम र सुदृढ प्राधिकरण निर्माणका लागि समग्र प्रयास केन्द्रीत गर्ने बताएका छन् ।
    ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणले विद्युत उत्पादन, प्रसारण र वितरणको काम गर्ने, सरकार तथा निजी क्षेत्र समेतले परस्पर सहयोग, समन्वय र लगानी गरी अनुकूल वातावरण सिर्जना गर्न सकेमा ऊर्जा क्षेत्रको समग्र विकास हुने बताए । ‘परम्परागत ठेक्का व्यवस्थापन, सेवा प्रवाह व्यवस्थापन सुधार गरी परिणाममूखी र जवाफदेही कार्यसञ्चालन व्यवस्थापनको अभ्यास गर्न ढिलाई भइसकेको छ’उनले भने,‘यसतर्फ प्राधिकरण क्रियाशील हुनु पर्छ ।’