विद्युत् प्राधिकरण उपकार्यकारी निर्देशकको सरुवा

    2688

    काठमाडौं,४ कात्तिक

    NEA_Buldingविद्युत् प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले उपकार्यकारी निर्देशकको सरुवा गरेका छन् । योजनाका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयलाई ग्राहक तथा वितरण सेवा (डिसिएस)मा सरुवा गरिएको छ । डिसिएसका उपकार्यकारी निर्देशक उपेन्द्रदेव भट्टलाई इन्जिनियरिङ सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।

    ट्रान्सफरमर, ग्राहकको जडान गर्ने मिटर, वितरण लाइन विस्तारलगायतमा चलखेल गर्न पाइने हुँदा डिसिएसलाई आकर्षक मानिन्छ । स्रोतका अनुसार पाण्डेय धेरै अघिदेखि डिसिएसमा जान खोजिरहेका थिए । यसैगरी, विद्युत् व्यापार विभागका निर्देशक शेरसिंह भाटलाई योजना निमित्तको जिम्मेवारी दिइएको छ ।

    प्रशासन निर्देशनालयको जिम्मेवारी सामान्य सेवा विभागका निर्देशक गोविन्द खरेललाई दिइएको छ । कानुन विभागमा रहँदा अनियमितता गरेको पुष्टि भएपछि प्राधिकरण सञ्चालक समितिले खरेललाई विभागीय कारबाही गरेको थियो । ‘विगतबाटै कर्मचारी सरुवामा प्रशासन प्रमुखबाट आर्थिक चलखेल हुने गरेको छ, अहिले त्यस्तो स्थानमा विवादित व्यक्तिलाई जिम्मेवारी दिएको छ,’ प्राधिकरणका एक निर्देशकले भने ।

    अर्थ निर्देशनालयमा माधव लुइँटेललाई लगिएको छ । तत्कालीन उपकार्यकारी निर्देशक लवबहादुर घिमिरेले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि अर्थप्रमुख करारमा नियुक्त गर्ने चर्चा चलेको थियो । तर, अहिले प्रशासनिक पृष्ठभूमि भएका लुइँटेललाई अर्थको जिम्मेवारी दिइएको हो ।

    ‘नयाँ संगठन संरचना लागू भएपछि कतिपय गाभिए व्यवसाय समूहमा रहेका कर्मचारीको व्यवस्थापन हुन सकेको छैन, तर नेतृत्व उच्च तहका कर्मचारीको सरुवा गर्नमै व्यस्त छ,’ प्राधिकरण स्रोतले भन्यो ।

    उनले कर्मचारी व्यवस्थापन गर्न आग्रह गर्दा नेतृत्वले निर्वाचन आचारसंहिताको कुरा गर्ने तर उच्च तहका कर्मचारी भने धमाधम सरुवा गरिरहेको आरोप लगाए ।

    @ नयाँ पत्रिका