वायु ऊर्जातिर लगानीकर्ता आकर्षित, चार कम्पनीले देखाए वायु ऊर्जा उत्पादनमा चासो

    1312

    असार ३, काठमाडौं । व्यावसायिक रुपमा वायु ऊर्जा उत्पादनका लागि  लगानीकर्ताले चासो देखाउन थालेका छन् । जलविद्युत् आयोजना निर्माणका लागि लामो समय लाग्ने र लगानी पनि धेरै हुने भएकाले वायु ऊर्जाका क्षेत्रमा लगानीकर्ता आकर्षित हुन थालेका हुन् । पछिल्ला दिनमा विद्युत् विकास विभागमा विभिन्न चार कम्पनीले वायु ऊर्जा उत्पादनका लागि रुचि देखाएका छन् ।

    ऊर्जा मन्त्रालयअन्तरगत विद्युत् विकास विभागमा पछिल्लो दिनमा मुलुकका विभिन्न चार स्थानमा कुल १० मेगावाट क्षमताको वायु ऊर्जा उत्पादनको सर्वेक्षणका लागि निवेदन दिएका छन् । तीमध्ये मुस्ताङमा मात्रै दुईओटा कम्पनीले सर्वेक्षणको लागि आवेदन दिएका छन् । कागबेनी वाइण्ड पावर परियोजनाका लागि मुस्ताङको कागबेनीमा पाँच मेगावाटको वायु ऊर्जा प्रणाली जडान सम्बन्धी अध्ययन एवम् सर्वेक्षणका लागि आवेदन दिएको छ । यस्तै, एभरेस्ट वाइण्ड इनर्जीले कागबेनीमा नै एक मेगावाटको वायु ऊर्जा प्रणाली जडानका लागि सर्वेक्षण गर्ने अनुमतिका लागि आवेदन दिएको छ ।

    त्यस्तै, नवलपरासीको रत्नपुरमा तीन मेगावाट क्षमताको परियोजना अगाडि बढाउने लक्ष्यका साथ वायु ऊर्जा प्रालिले आवेदन दिएको विभागका वरिष्ठ डिभिजनल ईञ्जिनियर (सिडिइ) बाबुराम अधिकारीले जानकारी दिए ।  गत जेठ १८ गते बसेको लगानी बोर्डको बैठकले समेत मुलुकभरको वायु प्रवाहको अवस्था एवम् हावाबाट बिजुली निकाल्ने सन्दर्भमा डेनमार्कको एक कम्पनीलाई अध्ययन गर्ने स्वीकृति दिएको थियो । डेनमार्कको कम्पनीले उसकै खर्चमा एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्न गरेको मागका आधारमा बोर्डले स्वीकृति दिएको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मुलुकका विभिन्न दशस्थानमा वायु ऊर्जाका लागि उपयुक्त स्थानको रूपमा घोषणा गरेको छ । केन्द्रले ओखलढुङ्गा, नगरकोट, रुपन्देही, कागबेनी, थिनी मुस्ताङ, बतासेडाँडा पाल्पा, रामेछाप, फाखेल मकवानपुर, नेटा प्यूठानमा गरेको अध्ययन तथा वायुको अवस्थाका बारेमा लगानीकर्तालाई जानकारी गराएको छ । पछिल्लो पटक जुम्लामा ५०० किलोवाट क्षमताको वायु ऊर्जा प्रणालीको जडान कार्य शुरू भइसकेको जुम्लाका पूर्व सभासद् एवम् नेकपा(माओवादी केन्द्र)का नेता नरेश भण्डारीले बताए ।

    नवलपरासीको धौवाडी र मकवानपुरमा यसअघि नै वायु ऊर्जा प्रणाली जडान भएर सञ्चालनमा आइसकेको छ । प्रविधिमा आएको विकास एवम् विस्तारका कारण पछिल्लो दिनमा वायु ऊर्जाको क्षेत्रमा लगानीकर्ता क्रमशः आकर्षित हुन थालेको एभरेस्ट वाइण्ड इनर्जीका प्रमुख डिल्लीराज पोखरेल बताउँछन् ।

    रासस