वर्षात्मा पनि ५ सय मेगावाट बिजुली कम

    1588
    सबै विद्युत् गृह पूर्ण रूपमा सञ्चालनमा आउँदा र भारतबाट आयात भइरहँदा पनि प्रणाली सञ्चालनमा अझै ५ सय मेगावाट विद्युत् आपूर्ति कम भएपछि दैनिक ५ देखि ७ घण्टासम्म लोडसेडिङ भइरहेको छ ।
    हाल विद्युत्को माग १ हजार ३५० र आपूर्ति भारतबाट समेत गरी साढे ७ सय मेगावाट हाराहारीमा छ । भारतबाट हाल २५० मेगावाटसम्म बिजुली आयात भइरहेको नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख विष्णु श्रेष्ठले बताए । आगामी कात्तिक पहिलो साता ५० मेगाावटको माथिल्लो मस्र्याङ्दी ए आयोजना सञ्चालनमा आउँदैछ । हाल आयोजनाको परीक्षण उत्पादन भइरहेको उनले जानकारी दिए । औपचारिक रूपमा दैनिक ७ घण्टा लोडसेडिङ भने पनि औसत ५ घण्टामात्र भइहरेको श्रेष्ठ बताउँछन् । ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायत केही साना आयोजना भूकम्प र बाढीले क्षति पु¥याएपछि अझै प्रणालीमा ५० मेगावाट आपूर्ति कम भएको छ । 
    ऊर्जा मन्त्रालयले भारतबाट ६ सय मेगावाटसम्म बिजुली आयात गरेर आगामी हिउँदमा लोडसेडिङ दैनिक बढीमा ७ घण्टामा सीमित गर्ने योजना बनाएको छ । पुससम्म प्रणालीमा १५० मेगावाट क्षमताका आयोजना सम्पन्न हुने अनुमान मन्त्रालयको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्ममा प्रणालीमा २ सय मेगावाट बिजुली थप गर्ने सरकारको योजना छ । विद्युत विकास विभागका अनुसार हालसम्म सार्वजनिक, निजी र वैदेशिक लगानीका गरी कुल ७८४ मेगावाट क्षमताका ५३ आयोजना सम्पन्न भएका छन् ।
    स्रोत : १२ खरी