लोडसेडिङ १२ घण्टामा राख्न प्रधानमन्त्रीको निर्देशन

    2757

    प्रधानमन्त्री बाबुराम भट्टराईले आउँदो हिउँदमा लोडसेडिङ दैनिक १२ घण्टामै सीमित गर्ने गरी काम थाल्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् ।
    वर्षादमा दैनिक ६ घण्टाभन्दा बढी लोडसेडिङ भएपछि मन्त्रालयका सचिवसहित उच्च पदाधिकारीलाई बुधबार आफ्नै निवासमा बोलाएर भट्टराईले यस्तो निर्देशन दिएका हुन् । लोडसेडिङ कम गर्न आवश्यक रकम अर्थ मन्त्रालयबाट व्यवस्था हुने स्पष्ट पार्दै प्रधानमन्त्री भट्टराईले भने, “कुन उपायबाट लोडसेडिङ घटाउन सकिन्छ, त्यसलाई तुरुन्त अघि बढाउनुस् ।”
    प्रधानमन्त्रीले ऊर्जामा देखिएका बाधा हटाउने प्रतिबद्धता व्यक्त गरेको ऊर्जा प्रवक्ता तथा सहसचिव अनुपकुमार उपाध्यायले जानकारी दिए । “प्रधानमन्त्रीले लोडसेडिङ घटाउनका लागि रकम अभाव नहुने प्रतिबद्धता जनाउनुभएको छ,” उनले भने ।
    कुलेखानी जलाशयमा पानीको सतह घट्दै जाँदा भारतले पनि ५० मेगावाट विद्युत् आपूर्ति कम गरेपछि विद्युत् प्राधिकरणले लोडसेडिङ बढाएको छ ।
    ऊर्जा सचिव हरिराम कोइरालाले प्रधानमन्त्रीसमक्ष लोडसेडिङ घटाउने कार्ययोजना पेस गरेका थिए । कार्ययोजनामा ‘भारतबाट थप १ सय मेगावाट बिजुली आयातका साथै हेटौंडा र विराटनगरका थर्मल प्लान्ट सञ्चालन गरेर हिउँदमा लोडसेडिङलाई १२ घण्टामा राख्न सकिने’ उल्लेख छ ।
    कुसाहदेखि दुहबीसम्म १५ किलोमिटर लामो १३२ केभी प्रसारण–लाइन बनाउन सके भारतबाट थप बिजुली आयात गर्न सकिने कोइरालाले बताएका थिए । यसका लागि मन्त्रिपरिषद्ले विशेष व्यवस्था गरेर तत्काल प्रसारण–लाइन निर्माण सुरु गर्नुपर्ने उनको भनाइ थियो । हिउँदमा भारतबाट थप १ सय मेगावाट बिजुली आयात गर्न सकिनेबारे प्रधानमन्त्रीलाई अवगत गराइएको थियो ।
    भारतबाट आयात हुने बिजुली र थर्मल प्लान्ट सञ्चालन गर्दा हुने नोक्सानीका लागि सरकारले अनुदान उपलब्ध गराए मात्र लोडसेडिङ घटाउन सकिने कोइरालाले बताएका थिए ।
    प्राधिकरणले यो वर्ष भारतबाट थप ३५ करोड युनिट बिजुली आयात गरेर १ अर्ब ५ करोड युनिट पु¥याउने तयारी गरेको छ । विराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफ्युल प्लान्ट पनि मर्मत भइरहेको छ ।
    प्राधिकरणले हिउँदमा दैनिक २१ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिसकेको छ । पर्याप्त वर्षा नहुँदा कुलेखानी जलाशयमा पानीको सतह बढेको छैन ।
    गएको हिउँदमा प्राधिकरणले भारतबाट १ सय ४५ मेगावाटसम्म बिजुली आयात गरेको थियो । अहिले पनि विभिन्न नाकाबाट ७० मेगावाट बिजुली आयात गरिरहेको छ ।
    त्यस्तै, विराटनगरको मल्टिफ्युल प्लान्ट तीन महिनामा निर्माण सम्पन्न भई विद्युत् उत्पादन हुने भएको छ । ३९ मेगावाट क्षमताको प्लान्टबाट मर्मतपछि ३० मेगावाट बिजुली उत्पादन हुनेछ । थर्मल प्लान्टबाट बिजुली उत्पादन गरेर बिक्री गर्दा प्राधिकरणलाई प्रतियुनिट २८ रुपैयाँ नोक्सान हुन्छ । डिजेल र फर्निस आयलको भाउ बढेकाले थर्मल प्लान्टको बिजुली अझ महँगो हुनेछ । एक लिटर आयलबाट ३ युनिट बिजुली उत्पादन हुन्छ ।
    विद्युत्को माग बर्सेनि ८० मेगावाटका दरले बढ्ने गरेको छ । राष्ट्रिय प्रसारण प्रणालीमा अघिल्लो वर्ष ४ र गत वर्ष ८ मेगावाटमात्र विद्युत् थप भएको छ । यो वर्ष ४० मेगावाट थप हुने ऊर्जाले जनाएको छ । प्राधिकरणका अनुसार यो वर्ष बिजुलीको माग बढेर १ हजार १ सय ६३ मेगावाट पुग्नेछ ।