त्रिशुली थ्री ए ३० प्रतिशत पूरा

    2538

    नुवाकोट – ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाले अबको डेढ वर्षभित्र बिजुली उत्पादन थाल्ने भएको छ। त्यही लक्ष्य पूरा गर्ने गरी आयोजनाको काम तीब्र गतिले अघि बढेको छ।  आयोजनाले हाल ३० प्रतिशत काम पूरा भएको जनाएको छ। चार हजार ९३ मिटर सुरुङमध्ये १ हजार ८ सय मिटर खनिसकिएको आयोजना प्रमुख गोपालबाबु भट्टराईले जानकारी दिए। ‘सुरुङ निर्माणको ४५ प्रतिशत काम पूरा भइसकेको छ,’ भट्टराईले भने, ‘अबको १० महिनाभित्र सुरूङको सम्पूर्ण काम पूरा हुनेछ।’
    उनका अनुसार अबको एक वर्षभित्र आयोजनाको विद्युतगृह निर्माण भइसक्नेछ। विद्युत उत्पादन पश्चात केन्द्रीय प्रसारण लाइनमा जडान गरिनेछ। आयोजनाले दुई सय २० केभी प्रसारण लाइन विस्तारको प्रक्रियासमेत अघि बढाएको छ। ५०० मेगावाटसम्मको क्षमता धान्ने प्रसारण लाइन विस्तारको काम अबको डेढ वर्षमा पूरा हुनेछ।
    प्रसारण लाइन र जलविद्युत निर्माण कार्य सँगसँगै लैजाने गरी काम भइरहेको भट्टराईले बताए। बाँध निर्माणको काम ५० प्रतिशत पूरा भइसकेको छ। अबको १० महिनाभित्र सुरुङ निर्माण सक्ने र डेढ वर्षभित्र बिजुली उत्पादन हुने आयोजना प्रमुख भट्टराईले बताए।
    बिजुली उत्पादन हुने ठाउँदेखि काठमाडौंको मातातीर्थसम्म ४५ किलोमिटर प्रसारण लाइन विस्तार गर्न उक्त क्षेत्रमा पर्ने सरकारी तथा सामुदायिक वनका रुख कटानका लागि अध्ययन भइसकेको छ।
    आयोजनाले आउँदो महिनादेखि प्रसारण लाइनको टावर निर्माणका लागि सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालय नुवाकोटसँग सहकार्य गरेर टावर निर्माण गर्ने ठाउँमा पर्ने रुख काट्न सुरु गर्ने भएको छ।
    नेपाल विद्युत प्राधिकरणले चाइनाको एक्जिम बैंकको ऋण सहयोगमा निर्माण गरिरहेको आयोजना साढे १० अर्ब रुपैयाँ लागतमा पूरा हुनेछ। आयोजनाले डाडागाउँको मैलुङनजिकबाट बाँध बाँधेर ४०९३ मिटरको सुरुङ निर्माण हुँदै नुवाकोटको मनकामना अर्चेलेनजिक विद्युतगृह निर्माण हुनेछ।
    आयोजना सन् २०१४ मेसम्म सक्ने लक्ष्य लिइएको  भए पनि आयोजनामा निर्माणका क्रममा भएको अवरोधले केही महिना पछि धकेलिने भट्टराईले जानकारी दिए।

    प्रस्तुति:नागरिक