लमजुङका २७ हजार ग्राहकलाई विद्युत् सेवा

    884

    जिल्लाका २७ हजार घरधुरीमा विद्युतीय सेवा पुगेको छ । जिल्लामा विद्युतीकरण जिम्मा पाएको लमजुङ विद्युत् उपभोक्ता संस्थामार्फत विद्युत् सेवा पुगेको हो ।

    ग्रामीण विद्युतीकरणमार्फत बिजुली

    ग्रामीण विद्युतीकरणअन्तर्गत संस्थाले स्थापना कालदेखि नै सुगमदेखि दुर्गम बस्तीका घरघरमा विद्युतीय सेवा पु¥याउँदै आइरहेको संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेले जानकारी दिए । उनले स्रोत–साधन अभाव र भौगोलिक विकटताका बाबजुद पनि संस्थाले काम गरिरहेको बताए । ०५३ देखि ग्रामीण विद्युतीकरण गर्ने उद्देश्यले स्थापना भएको लमजुङ विद्युत् उपभोक्ता संस्थाले हालसम्म आइपुग्दा जिल्लाका २७ हजार घरमा विद्युत् सेवा पुर्‍याउन सफल भएको संस्थाका अध्यक्ष घिमिरेको भनाइ छ ।

    चार हजार पाँच सय घरधुरीमा सेवा

    उनले भने, ‘सुरुमा ४७ वटा मात्रै ट्रान्सफर्मरबाट जिल्लाका ४ हजार ५ सय घरधुरीमा सेवा पुर्‍याउन सफल भएका थियौँ । अहिले ट्रान्सफर्मर संख्या १ सय ७० पुर्‍याएका छौँ ।’ घिमिरेका अनुसार जिल्लामा ४ सय १५ किलोमिटर ११ केभी लाइन र ९ सय ४० एलटी लाइन निर्माण गरिएको छ ।

    २९ गाविसमा विद्युतीकरण

    संस्थाले जिल्लाका विभिन्न २६ र छिमेकी जिल्ला तनहुँका ३ गरी कुल २९ गाविसमा विद्युतीकरण गरेको छ । संस्थाले भौगोलिक जटिलता भए पनि नियमित रूपमा विद्युतीकरण गरिररहेको अध्यक्ष घिमिरेले बताए । उनले भने, ‘अधिकांश विद्युतीय ट्रान्सफर्मर दुर्गम भेगमा राखिएकाले वेलावेलामा आउने समस्याले उपभोक्ता मारमा पर्ने गरेका छन् । जनतालाई जतिसक्दो छिटो सेवा दिन सोहीअनुरूप कर्मचारी परिचालन गरेका छौँ । उपभोक्ता र संस्थाका कारण जिल्लामा विद्युत् चुहावट नियन्त्रणमा आएको छ ।’

    विद्युत् प्राधिकरणसँग बिजुली खरिद

    संस्थाले नेपाल विद्युत् प्राधिकरणसँग तीन फरक दरमा विद्युत् खरिद गरी ग्राहकलाई बेच्दै आइरहेको छ । संस्थाले प्राधिकरणसँग प्रतियुनिट ४ रुपैयाँ २५ पैसा, ६ रुपैयाँ र ६ रुपैयाँ २५ पैसाका दरले विद्युत् खरिद गर्दै आएको हो ।

    घुम्ती टोलीमार्फत महसुल असुली

    ग्रामीण भेगबाट विद्युत् महसुल तिर्नकै लागि सदरमुकाम आउनुपर्ने बाध्यता समाधान गर्न संस्थाले सेवासुविधालाई विकेन्द्रित गरी विभिन्न स्थानमा घुम्ती टोलीमार्फत महसुल संकलन र लाइन मर्मतका काम गर्दै आएको जनाएको छ । ‘विद्युतीकरणको क्षेत्रमा सामुदायिकीकरण भएपछि विगतमा ८०–२० र हाल ९०–१० को कार्यक्रमअन्तर्गत कतिपय स्थानमा थप विद्युतीकरण सहज भएको छ,’ संस्थाका अध्यक्ष घिमिरेले भने, ‘कार्यक्रमबाट विपन्न परिवारलाई राहत मिलेको छ ।’

    नेपालकै नमुना

    लमजुङ विद्युत् उपभोक्ता संस्था नेपालकै नमुना संस्थाका रूपमा परिचित भएकाले विद्युत सेवा नपुगेका ठाउँमा विद्युत् आपूर्ति गर्दै जाने, सरकारी एवं गैरसरकारी निकायसँग समन्वय गरी विद्युत् संरचना सुधार्दै जाने, संस्थाका सेवासुविधा पारदर्शी राख्न अनलाइनमार्फत महसुल भुक्तानी व्यवस्था गर्ने र संस्थाको स्वामित्व पूर्ण रूपमा उपभोक्तामा लैजान सहकारीमा रूपान्तरण गर्ने योजना बनाइएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

    ५१ जिल्लामा २ सय ५९ सामुदायिक संस्था

    जिल्लाका ग्रामीण भेगमा विद्युतीकरण गर्ने उद्देश्यले लमजुङ विद्युत् उपभोक्ता संस्थासहित जिल्लामा ९ र नेपालका ५१ जिल्लामा २ सय ५९ सामुदायिक संस्था स्थापना भएका छन् । यी सबै संस्थाले मुलुकभरका करिब चार लाख घरधुरीमा सेवा पु¥याइरहेको विद्युत् उपभोक्ता राष्ट्रिय महासंघले जनाएको छ ।

    स्रोत::नयाँपत्रीका