दोलखामा २५१ किमी प्रसारण लाइन निर्माण हुँदै

    2644

    dolakha

    मङ्सिर ८, दोलखा । दोलखा जिल्लामा २ सय ५१ किलोमिटर प्रसारण लाइन निर्माण हुने भएको छ । निर्माणाधीन र निर्माण सम्पन्न भई नियमित विद्युत् उत्पादन गरिरहेका दोलखाका १५ जलविद्युत् आयोजनाले विद्युत् प्रसारणका लागि उक्त प्रसारण लाइन निर्माण गर्ने भएका हुन् । दोलखा जिल्लामा ३३ केभीदेखि ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुने विद्युत् विकास विभागका सूचना अधिकारी बाबुराजा अधिकारीले जानकारी दिए ।

    विद्युत् विकास विभागले निर्माण लाइसेन्स प्रदान गरेको चारओटा प्रसारण लाइन योजनामध्ये सिनर्जी पावर डेभलपमेण्टले लामाबगर गाविसको जगतदेखि सिङ्गटीसम्म ३३ केभी क्षमताको करीब २२ किलोमिटर प्रसारण लाइन निर्माण गरिसकेको विभागले बताएको छ । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरिरहेको २२०/१३२ केभी क्षमताको ४७ किलोमिटर लामो प्रसारण लाइनको निर्माण करीब ६६ प्रतिशत पूरा भइसकेको छ । १३२ केभी क्षमताको खिम्ती–सुनकोशी–भक्तपुर–बालाजु र सिङ्गटी–लामोसाँघु प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले सर्वेक्षण शुरू गरेको बताइएको छ ।

    यसबाहेक खानीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक ग्रीनलाइफ इनर्जी प्रालिले १३२ केभी क्षमताको १९ किलोमिटर, नेपाल विद्युत् प्राधिकरणले तामाकोशीदेखि काठमाडौंसम्म ४ सय केभी क्षमताको १ सय किलोमिटर र खिम्तीदेखि गज्र्याङसम्म १३२ केभी क्षमताको ३० किलोमिटर एवम् उपल्लो खिम्ती जलविद्युत् आयोजनाको प्रवद्र्धक हिमालय ऊर्जा विकास कम्पनीले ३३ केभी क्षमताको ३० किलोमिटर प्र्रसारण लाइन निर्माणका लागि विभागसँग अनुमति लिएको छ ।

    यसैगरी सुरीखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक सुरीखोला हाइड्रोपावर प्रालिद्वारा ३३ केभी क्षमताको ५ दशमलव २ सय ५० मिटर, चाकेखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक गज्र्याङ उपत्यका पावर कम्पनीद्वारा ३३ केभी क्षमताको ९ दशमलव ५ सय मिटर र तल्लो खारेखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक युनिभर्सल पावर लिमिटेडले १३२ केभी क्षमताको साढे ५ किलोमिटर प्रसारण लाइन निर्माण गर्न विभागबाट इजाजत लिएका छन् ।

    जिरीमा बोजिनी कम्पनीद्वारा ३३ केभी, खारेखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक कन्सोर्टिएम पावरद्वारा १३२ केभी, सुरीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक न्यादी ग्रूपद्वारा १३२ केभी र तल्लो खारेखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक युनिभर्सल पावर लिमिटेडद्वारा १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने जानकारी पनि अधिकारीले जानकारी दिए ।

    Source: Abhiyan