यार्सागुम्बाको आम्दानीबाट विद्युत आयोजना

    2384

    Manan_microपोखरा- यार्सागुम्बा संकलकलाई पुर्जी दिंदा संकलित रकमले हिमालपारिको जिल्ला मनाङको टंकीमनाङ गाउँमा लघुजलविद्युत आयोजना बनाउन थालिएको छ। आफ्नै आयस्रोतबाट संकलित रकमले जलविद्युत आयोजना बनाएर गाउँ झिलिमिली पार्ने योजना स्थानीयबासीको छ।

    स्थानीयबासीको पहलमा सुरु भएको १ सय ६० किलोवाट क्षमताको मनाङ सामुदायिक लघु जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको आयोजनाका सचिव विनोद गुरुङले जानकारी दिए। सरकारी लगानी पर्खिँदा लामो समय लाग्ने देखेरै स्थानीय आयस्रोतलाई परिचालन गर्दै विद्युत आयोजना बनाउन लागेको उनले बताए।

    ‘सरकारी बजेट कुर्ने हो भने वर्षौं अन्धकारमा बस्नुपर्ने अवस्था देख्यौं, त्यही भएर स्थानीय आयस्रोतलाई उपयोग गरेर आफ्नै पहलमा विद्युत आयोजना बनाउन लागेका हौं,’ उनले भने, ‘यार्सागुम्बा संकलन गर्न जानेलाई पुर्जी दिँदा लिइने शुल्क हामीले यो आयोजना बनाउन खर्चेका छौं।’ करिब ६ करोड रुपैयाँको लागतमा बनाउन लागिएको आयोजनाका लागि वैकल्पिक ऊर्जाले अनुदानस्वरुप २ करोड ३३ लाख, गाविसबाट २५ लाख  र मनाङ जिविसबाट ३५ लाख रुपैयाँ सहयोग पाएको उनले बताए।

    ‘करिब ३ करोड रुपैयाँ अनुदान पाएका छौं। बाँकी तीन करोड यार्सागुम्बा संकलन गर्न जानेलाई पुर्जी दिएबापत उठायौं,’ गुरुङले नागरिकसँग भने, ‘पाँच वर्षदेखि यार्सागुम्बा संकलन गर्न जानेबाट लिएको करिब ३ करोड रुपैयाँ यसमै खर्च गरेका छौं।’ सुरुका दुई वर्ष २५ लाख रुपैयाँका दरले यार्सागुम्बा संकलन गर्न जानेसँग शुल्क उठाएको र त्यसपछिका तीन वर्ष करिब ८० लाख रुपैयाँका दरले पैसा उठेको उनले बताए।

    यार्सागुम्बाको मूल्य बढेसँगै पुर्जीको शुल्क पनि बढाएको उनले बताए। यार्सागुम्बा संकलन गर्न जाँदा मनाङ जिल्लाभन्दा बाहिरका व्यक्तिले प्रतिपुर्जीको १५ हजार र स्थानीयले ९ हजार रुपैयाँ तिर्नुपर्छ। यो सिजनमा करिब ८ सय व्यक्ति यार्सागुम्बा संकलन गर्न मनाङका विभिन्न गाउँमा पुगेका छन्। समुद्रीसतहदेखि करिब ४२ सय मिटरभन्दा बढी उचाइमा यार्सागुम्बा संकलन गरिन्छ। वैशाख र जेठ यार्सागुम्बा संकलन गर्ने मुख्य सिजन हो।

    गुरुङका अनुसार आगामी भदौसम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ। पाँच वर्षदेखि आयोजना बनाउन सुरु गरे पनि वर्षमा ६ महिनामात्र काम गर्नुपर्ने भएकाले अवधि बढी लागेको उनले सुनाए। ‘वर्षमा बढीमा ६ महिना मात्र काम गर्ने हो, त्यसबाहेकको समयमा जाडो हुन्छ। टाढाबाट निर्माण सामग्री ल्याउनुपर्दा पनि समय लाग्ने भएकाले आयोजना सम्पन्न गर्न बढी अवधि लाग्यो,’ उनले भने, ‘तर अब अन्तिम चरणमा छांै। आगामी भदौमा नयाँ आयोजनाबाट बत्ती बाल्ने लक्ष्य हाम्रो छ।’

    मर्स्याङदी नदीमा बाँध बाधेर निकालिने बिजुलीले मनाङ र टंकीमनाङका करिब १२ सय जनसंख्यालाई सजिलो हुनेछ। सुरुमा एक सय किलोवाट क्षमताको बिजुली निकाल्ने योजना बनाए पनि पछि क्षमता बढ्ने देखेर त्यसैअनुरुप लगानी गरेको सचिव गुरुङले सुनाए। यसअघि २०४५ सालमा बनाइएको ८० किलोवाट क्षमताको स्थानीय लघुजलविद्युत आयोजनाबाट मनाङका विभिन्न सात गाविसमा बत्ती बालिएको छ।

    ८० किलोवाट क्षमताको आयोजनाबाट मनाङ, टंकीमनाङ, खाङसार, भ्राका, नाओल, घ्यारु र पिसाङ गाविसका करिब ९ सय घरमा बत्ती बालिएको छ। ‘कम क्षमताको आयोजनाबाट धेरैले बिजुली उपयोग गर्दा अपुग हुन थालेको छ, अहिलेसम्म बत्ती बाल्नमात्र पाएका छौं। विद्युतीय उपकरण चलाउन गर्न समस्या परेको छ,’ उनले भने, ‘तर, नयाँ आयोजना बनेपछि दुईवटा गाविसलाई विद्युत अभाव हुँदैन। विद्युतीय उपकरण सञ्चालमा पनि अब समस्या आउँदैन।’ नयाँ आयोजना बनेसँगै अन्य गाविसका बासिन्दाका लागि पनि सहज हुने उनले बताए।

    मनाङबासीले स्थानीय स्रोतबाट आएको आम्दानीलाई विकास निर्माणमा लगाउने नीतिअनुरुप पाँच वर्षको बचत रकम विद्युत आयोजनामा खर्चेको सचिव गुरुङ बताउँछन्। ‘पाँच वर्ष बिजुलीमा लगानी गर्‍यौं, अर्को वर्षदेखि त्यो आम्दानीले गुम्बा बनाउने हो,’ उनले भने, ‘स्थानीय आयस्रोतलाई परिचालन गर्दै विकास निर्माण गर्ने हाम्रो नीति नै छ।त्यसैअनुरुप लगानी गरिरहेका छौं। सधै सरकारी मुख ताकेरमात्र हुँदैन भन्ने हाम्रो ठहर हो।’

    Source : Nagarik News