मुख्य सहरमा सौर्य ऊर्जाबाट सडकबत्ती

    2583

    काठमाडौं, १९ वैशाख
    solar_street_lightमुलकुका प्रमख सहरमा सौर्य ऊर्जा प्रयोग गरी सडकबत्ती राखिने भएको छ । काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, कीर्तिपुर, भक्तपुर र मध्यपुर थिमी नगरपालिका तथा राजधानीबाहिरका विराटनगर, वीरगन्ज, पोखरा उप-महानगरपालिका र धनगढी नगरपालिकामा सौर्य ऊर्जामार्फत सडकबत्ती प्रयोगमा ल्याइनेछ ।
    काठमाडौं उपत्यकामा एसियाली विकास बैंकको सहायतामा र उपत्यकाबाहिर सरकारले आफैँै ऊर्जा प्रयोग गर्न लागेको हो । मानिसको चहलपहल बढी हुने, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय महत्त्वका क्षेत्रमा सौर्य ऊर्जामार्फत सडकबत्ती
    प्रयोग गरिनेछ ।
    उपत्यकाका सडकमा सौर्य बत्ती जडान, सञ्चालन तथा मर्मतका लागि ठेकेदार छनोट भई सर्वेक्षण कार्य सुरु भइसकेको छ । हाइड्रो चाइनाले सौर्य ऊर्जाको काम गरिरहेको छ ।
    उपत्यकाबाहिरका नगरपालिकामा सौर्य ऊर्जा सडक जडानका लागि विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरिसकेको छ । त्यसका लागि करिब १३ करोड रुपैयाँ लाग्ने अनुमान
    गरिएको छ ।
    काठमाडौं उपत्यकाका ५ नगरपालिका क्षेत्रमा पर्ने ८ सय ४६ पोलमा सौर्य ऊर्जामार्फत २०-६० वाटसम्मका बत्ती प्रयोग गरिनेछ । स्वयम्भूमा हावाबाट बिजुली निकालिनेछ ।
    काठमाडौं उपत्यका सौर्य सडकबत्ती परियोजनाका प्रमुख सूर्यरत्न ताम्राकारले स्वयम्भूमा वायुबाट २ किलोवाट ऊर्जा उत्पादन हुने जानकारी दिए ।
    ‘परीक्षणका रूपमा स्वयम्भूमा वायुबाट २ किलोवाट ऊर्जा उत्पादन हुँदै छ,’ उनले भने । जडान गरिएका सौर्य बत्ती सम्बन्धित नगरपालिकालाई हस्तान्तरण गरिनेछ । ताम्राकारले सौर्य ऊर्जा जडान करिब ९ महिनाभित्र सकिने जानकारी दिए ।
    काठमाडौं उपत्यकाबाहिरका ४ नगरपालिकाका ७ सय ६३ पोलमा सौर्य सडकबत्ती प्रयोग गरिनेछ । आयोजनाका प्रमुख अभिषेक अधिकारीले आगामी चैतसम्म उपत्यकाबाहिर आयोजनाका  काम सकिने बताए । ‘ऊर्जा उपकरण आपूर्ति, जडान, सञ्चालन, मर्मतलगायत काम गर्न टेन्डर आह्वान गरिसकेका छौँ, अवरोध नभए काठमाडौंबाहिरका ४ नगरपालिकाका सडकमा सौर्य ऊर्जाबाट बत्ती जडान भइसक्छन्,’ उनले भने ।
    सरकारले सौर्य ऊर्जा प्रवर्द्धन गर्न सिंहदरबार, अन्तर्राष्ट्रिय विमानस्थल, वीर अस्पताललगायतमा सौर्य ऊर्जा प्रयोग गरिने घोषणा गरिसकेको छ । सरकारले घोषणा गरे पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन ।

    @नयाँ पत्रिका