माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् : चैतदेखि परीक्षण उत्पादन

    1229

    २५ मेगावाटको आयोजनाको ८५ प्रतिशत काम सकियो

    लमजुङ — दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले आगामी चैतमा परीक्षण उत्पादन थाल्नेगरी कामलाई तीव्रता दिएको छ ।
    दोर्दी गाउँपालिका ६ ढोडेनी र ७ फलेनीबीचको दोर्दीखोलामा बन्दै गरेको जलविद्युत्को निर्माण कार्य ८५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

    २ हजार ६ सय २३ मिटर लम्बाइको सुरुङ निर्माण भइकेको छ । सुरुङको निर्माण कार्य वाइबा इन्फ्राटेक प्रालिले गरेको हो । २ हजार ८ सय ५४ मिटर लामो पेनस्टक पाइपको जडान कार्य सकिएको छ ।

    पेनस्टकको सिभिल र हाइड्रोमेकानिकलको काम माछापुच्छ्रे जेभीले गर्दै आाएको छ । आयोजनाका अनुसार हेडवक्र्स र विद्युत् गृहको निर्माणकार्य करिब ७० प्रतिशत सकिएको छ । हेडवक्र्स र पावरहाउस वज्रगुरु कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ ।

    दोर्दी गाउँपालिकाको ढोडेनी तल्लो सिमीस्थित लोंदोखोला दोभानमा बाँध बाँधेर कीर्तिपुरबेंसी नजिकै मालेबगरमा निर्मित विद्युत् गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिनेछ । नदीको बहावमा आधारित (रन अफ रिभर) को उक्त आयोजनाको अन्डरग्राउड (भूमिगत) विद्युत् गृह हुनेछ ।

    उक्त विद्युत् गृहमा १२ दशमलव ५ मेगावाटका २ वटा पेल्टन टर्बाइन रहनेछन् । आयोजनाको प्रवद्र्धक लिबर्टी इनर्जी कम्पनी लिमिटेडका अध्यक्ष कुशकुमार जोशीका अनुसार आगामी जनवरी १४ (माघ महिना) भित्र विद्युत् निर्माणका ‘मेजर’ कार्य सक्ने कार्यतालिका छ ।

    फागुनसम्म सम्पूर्ण संरचना निर्माण तथा उपकरण जडान गर्नेछ । चैत महिनाभित्र विद्युत् उत्पादन गरिने उनले बताए । ‘निर्माणकार्य ८५ प्रतिशतभन्दा बढी सकियो । हामी तोकिएको समयमै काम पूरा गर्छौं,’ उनले भने । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् १ मेगावाट पनि खेर जान दिन्नाैं भनेकाले विद्युत् खेर नजानेमा आशावादी रहेको उनले बताए ।

    दोर्दी करिडोरमा निर्माणाधीन १३२ केभीको राष्ट्रिय प्रसारण लाइन निर्माणकार्य देखिने गरी अघि नबढेको भन्दै उनले छिटो निर्माण गर्न आग्रह गरे । ‘ट्रान्समिसन लाइन निर्माण गर्न सरकार जिम्मेवार बन्नुपर्छ । कतिपय आयोजनाको विद्युत् यतिकै खेर गइरहेको छ । यो नियति हामीले व्यहोर्नु नपरोस्,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका जोशीले भने ।

    प्रदेश सांसद धनञ्जय दवाडीले लमजुङ लगानीमैत्री जिल्ला भएकाले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । ‘निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न राजनीतिक दल, स्थानीय सरकार र प्रशासनको पूर्ण सहयोग छ,’ उनले भने । जलविद्युत्बाट आर्थिक समृद्धिको परिकल्पना गण्डकी प्रदेशले गरेको भन्दै जलविद्युत्को समुचित विकास हुनुपर्ने औंल्याए ।

    ‘गण्डकी प्रदेशले उज्यालो प्रदेश घोषणा गरिसकेको छ । सरकारी घोषणालाई सबै मिलेर कार्यान्वयन गरौं,’ उनले भने ।आयोजनाका प्रबन्ध निर्देशक आत्माराम घिमिरेका अनुसार नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा ९ वटा बैंकले आयोजनामा ऋण लगानी गरेका छन् ।
    : कान्तिपुर