माथिल्लो तामाकोसी ६ महिना ढिलो

    2797

    काठमाडौ, चैत्र २ –

    Upper-Tamakoshi-Access-Tunnelचिनियाँ ठेकेदारका कारण निर्माणाधीन सबभन्दा ठूलो ४५६ मेगावाटको जलविद्युत् आयोजना माथिल्लो तामाकोसीबाट निर्धारित मितिभन्दा छ महिना ढिलो अर्थात् २०७२ चैतदेखि मात्र पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु हुने भएको छ ।

    मुलुकले चरम लोडसेडिङको समस्या भोगिरहेका बेला मुलुककै सबभन्दा ठूलो आयोजनाबाट विद्युत् उत्पादन निर्धारित मितिभन्दा छ महिना ढिलो सुरु हुने स्थिति उत्पन्न हुनु दुःखद् भएको ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीले चिनियाँ ठेकेदारबाट सुरु भएको लापरबाहीका कारण उक्त आयोजना पछिल्लो समयमा भनिएभन्दा झन् ढिलो सम्पन्न हुने हो कि भन्ने चिन्ता बढेकोसमेत उल्लेख गरे ।

    अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले हालै ऊर्जा मन्त्रालयलाई बुझाएको गोप्य मासिक प्रगति प्रतिवेदनमा सिभिल ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोका कारण आयोजनाबाट व्यापारिक उत्पादन निर्धारित मितिभन्दा छ महिना ढिलो सुरु हुने जानकारी गराएको छ । सिभिलतर्फ ठेकेदार र परामर्शदाताबीच एक वर्षअघि आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७२ असोजदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने भनी भएको सहमतिअनुसार कार्य हुन नसकेको उल्लेख गर्दै तामाकोसी हाइड्रो पावर लिमिटेडले तालुकवाला मन्त्रालयलाई माथिल्लो तामाकोसी आयोजना निर्धारित मितिभन्दा ६ महिना ढिलो सम्पन्न हुने जानकारी गराएको हो । चिनियाँ ठेकेदारका कारण आयोजनाको निर्माण अवधि लम्बिंदा लागतसमेत बढ्ने चिन्ता तामाकोसी हाइड्रो पावर लिमिटेडका अधिकारीले व्यक्त गरेका छन् । तर, तामाकोसी हाइड्रो पावरले प्रगति प्रतिवेदनमा लागत बढ्नेबारेमा भने केही पनि उल्लेख गरेको छैन ।

    अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले प्रगति प्रतिवेदनमा चिनियाँ ठेकेदारले निर्माण उपकरण र विस्फोट पदार्थ आयात गर्न लामो समय लागेको र अन्य विविध कारण देखाउँदै निर्माण अवधि बढ्ने कुरा पेस गरेको तथा सिभिल निर्माणसँग समन्वयात्मक ढंगले अघि बढाउनुपर्ने लट नं. २ र ३ को खरिद सम्झौता हुन ढिलाइ भएकाले निर्धारित मिति २०७२ असोजभित्र आयोजना सम्पन्न गर्न असर परेको जनाएको छ ।

    सिभिलतर्फको मुख्य संरचना भूमिगत विद्युत् गृह निर्माण कार्यमा चिनियाँ ठेकेदारको कमजोरीका कारण केही ढिलाइ हुने देखिएकाले उक्त ठेकेदारको मुख्य कार्यालय चीनमा पत्राचार गरी उच्च व्यवस्थापन टोली खटाई समस्या समाधान गर्न र निर्माण तालिका सम्बन्धमा गहन छलफल गरी प्रस्ताव पेस गर्न आग्रह गरिएको समेत अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले प्रतिवेदनमा उल्लेख गरेको जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए ।

    लट नं. १, २ र ३ का ठेकेदारसित वार्ता गरी आयोजनाको निर्माण सम्पन्न हुने नयाँ मिति तय भएको उल्लेख गर्दै अपर तामाकोसी हाइड्रो पावरले विद्युत् गृहका युनिटहरूबाट दुई/दुई महिनाको फरकमा व्यापारिक उत्पादन गर्ने समझदारी भएको प्रतिवेदनमा उल्लेख गरेको छ । पहिलो युनिटबाट २०७२ जेठमा, २०७२ कात्तिकभित्र ४ युनिटबाट तथा २०७२ चैत महिनाभित्र आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी सबै युनिटबाट पूर्ण क्षमतामा ४५६ मेगावाट विद्युत् उत्पादन हुने जानकारी तामाकोसी हाइड्रो पावरका एक अधिकारीले दिए । लट नं.१ अर्थात् सिभिलतर्फको चिनियाँ ठेकेदार कम्पनी र परामर्शदातासित एक वर्षअघि भएको सहमतिअनुसार विद्युत् खरिद सम्झौतामा भएको मितिभन्दा पहिले अर्थात् २०७२ असोजभित्र उक्त आयोजनाबाट ६ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने गर्ने समयतालिका निर्धारण गरिएको थियो ।

    चिनियाँ ठेकेदारको कमजोरीका कारण सहमतिअनुसार तय गरिएको समय तालिकाभन्दा ट महिना ढिलो विद्युत् उत्पादन हुन सक्ने अवस्था आएको अपर तामाकोसी हाइड्रो पावरका अधिकारीले जानकारी दिए ।

    चिनियाँ ठेकेदारका कारण निर्माणमा ढिलाइ भए पनि आयोजना सुरु गर्दा पहिलो युनिटबाट २०७२ जेठ, ४ वटा युनिटबाट २०७२ कात्तिकभित्र ३०९ मेगावाट र सबै छ युनिटबाट २०७२ चैतभित्र उत्पादन गर्ने भनी निर्धारित पहिलो समय तालिकाभन्दा भने ढिलो नहुने दाबी अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले गरेको छ ।

    प्रस्तुति: कान्तिपुर