५९ प्रवद्र्धकद्वारा विद्युत् उत्पादन लाइसेन्सका लागि निवेदन

    2658

    list_gl_appकाठमाडौं, १ चैत – ५९ प्रवद्र्धकले ३ हजार मेगावाट विद्युत् उत्पादन लाइसेन्सका लागि ऊर्जा मन्त्रालयमा निवेदन दिएका छन् ।
    विद्युत् उत्पादनका लागि आवेदन दिनेमा नेपाल विद्युत् प्राधिकरण र अन्तर्गतका सहायक कम्पनीका साथै निजी प्रवद्र्धक छन् । विद्युत् प्राधिकरणको दुई र तनहुँ हाइड्रोपावर लिमिटेडको एक गरी तीन आयोजनाबाट २ सय २४ मेगावाट विद्युत् उत्पादनका लागि निवेदन आएको छ ।
    बाँकी २ हजार ८ सय ८७ मेगावाट क्षमताको ५६ आयोजना निजी प्रवद्र्धकले बनाउने गरी लाइसेन्सका लागि निवेदन दिइएको छ । निवेदन दिएकामध्ये केही आयोजनको लाइसेन्स समय सकिएपछि विद्युत् उत्पादनको लाइसेन्स मागेका छन् ।
    यस्तै, केही प्रवद्र्धकले समयअगावै आयोजनाको सर्वेक्षण पूरा गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् जडान सम्झौताका साथै विद्युत् खरिद सम्झौता (पीपीए) गरेर लगानी जुटाउन विद्युत् विकास विभागमा आवेदन दिएका छन् । विद्युत् उत्पादनका लागि विभागमा निवेदन दिने आयोजनामा न्यूनतम २ देखि साढे ६ सय मेगावाटसम्मका आयोजना छन् ।
    विद्युत् प्राधिकरणले अपरमोदी ए (४७ मेगावाट) र त्रिशुली ३ बी (३७ मेगावाट) आयोजनाबाट विद्युत् उत्पादनको लाइसेन्स मागेको छ । यस्तै, प्राधिकरणअन्तर्गतको तनहुँ हाइड्रोपावर लिमिटेडले तनहुँ जलाशययुक्त विद्युत् आयोजना (१४० मेगावाट) विद्युत् उत्पादनका लागि लाइसेन्स मागेको छ ।
    न्यूनतम् प्रक्रिया पु¥याएर निवेदन दिएका प्रवद्र्धकलाई सरकारले विद्युत् उत्पादनको लाइसेन्स दिने गरेको विद्युत् विकास विभागका सिनियर डिभिजन इन्जिनियर गोकर्णराज पन्तले बताए । उनका अनुसार आयोजनाको विस्तृत अध्ययन पूरा गर्नुका साथै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भएका र विद्युत् प्राधिकरणसँग विद्युत् जडान सम्झौता पूरा गरेका तथा लगानीका लागि वित्तीय संस्थाबाट लगानी गर्ने आशयपत्र पेस गरेका प्रवद्र्धकलाई आयोजनाबाट विद्युत् उत्पादनको लाइसेन्स दिने गरिएको छ ।
    यी प्रक्रिया पूरा गरेपछि वित्तीय व्यवस्थापन र पीपीएका लागि सर्तसहित विद्युत् उत्पादनको लाइसेन्स दिइने उनले जानकारी दिए । सर्त पूरा नगरे लाइसेन्स खारेज हुनसक्ने कानुनी प्रावधान छ । विद्युत् ऐन २०४९ मा विद्युत् उत्पादन सर्वेक्षण लाइसेन्स अवधि बढीमा पाँच वर्ष हुने प्रावधान छ ।

    कारोबार