भूमिगत विद्युत् वितरण प्रणाली विकास हुँदै

    1691

    वैशाख १२, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणालीको विकास थाल्ने भएको छ । एशियाली विकास बैङ्क (एडीबी)को आर्थिक सहयोगमा गर्न लागिएको उक्त कार्यअन्तर्गत महाराजगञ्ज क्षेत्रका लागि करीब रू. २ अर्ब ५० करोड र रत्नपार्क क्षेत्रका लागि करीब रू. ३ अर्ब बजेट छुट्याइएको प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले बताए ।

    हाल उक्त कार्यका लागि ठेकेदार छनोट गर्न आवश्यक बोलपत्र आह्वानका लागि तयारी भइरहेको छ । ‘अबको एक–डेढ महीनामा महाराजगञ्ज क्षेत्रको बोलपत्र आह्वान हुन्छ,’ सिलवालले भने, ‘त्यसको करीब १ महीनामा रत्नपार्क क्षेत्रका लागि बोलपत्र आह्वान हुनेछ ।’ हालसम्म प्रारम्भिक अध्ययन मात्र भएको दुवै ठाउँको भूमिगत विद्युत् वितरणको सर्वेक्षणका साथै डिजाइन निर्माणको कामसमेत ठेकेदारकै हुने गरी जिम्मा दिइनेछ ।

    विद्युत् वितरणका लागि सडकका पेटीमुनि अन्तरराष्ट्रिय मापदण्डको सुरक्षा व्यवस्था रहेको तार बिछ्याइने प्राधिकरणले बताएको छ । यो काम संसारका धेरै देशले गर्दै आएको र सकारात्मक परिणाम आएकाले अहिलेसम्म आइपुग्दा प्रविधिले पनि थप सुरक्षित बनाउने सिलवालले बताए । ‘सामान्यतया सडक पेटीबाट लगिनेछ,’ उनले भने, ‘जहाँजहाँ मेलम्चीले पेटीको प्रयोग गरेको छ, त्यहाँत्यहाँ हामी सडकमुनिबाट पनि लैजाने छौं ।’ खानेपानी तथा ढलका पाइपको मर्मत सम्भारले बिजुलीको तारमा असर नपरोस् भन्नका लागि उक्त पाइपहरूभन्दा करीब दुई फीटको दूरीमा तार रहने व्यवस्था गरिँदै छ ।

    हाल नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण गरिरहेका खम्बाहरूकै प्रयोग गरी टेलिकम, केबल लाइन तथा इण्टरनेट सेवाप्रदायकका तार पनि लगिएका छन् । बाहिरी तारको व्यवस्था हटाउँदै जान लागेको प्राधिकरणले उक्त सेवाप्रदायकहरूलाई पनि भूमिगत वितरणका लागि आह्वान गरेको छ । सोको व्यवस्थाका लागि सम्बन्धित कार्यालयका साथै ट्राफिक प्रहरीको समेत संलग्नतामा ऊर्जा सचिवको संयोजकत्वमा एक सहकार्य समितिसमेत गठन भएको छ । सबै निकायबीच सहकार्य हुन सके बिजुलीको तारको व्यवस्थापनसँगै माकुराको जालोजस्तो शहर नै कुरूप पार्ने उक्त तारहरूको पनि व्यवस्थापन हुनेछ । थालेको डेढदेखि २ वर्षमा काम सक्ने प्राधिकरणको योजना छ ।

    तर, भूमिगत विद्युत् वितरण प्रणाली निर्माणको काम भइरहेका बेला नागरिकले धूलोको समस्या भोग्नु नपर्ने प्राधिकरणले बताएको छ । ‘हामी थोरै थोरै क्षेत्र खन्दै, काम सक्दै जाने योजनामा छौं,’ सिलवालले भने, ‘त्यस क्रममा पनि खनेका ठाउँमा रबर म्याट ओछ्याउने गरेर पनि शहरलाई धूलोमुक्त राख्ने छौं ।’ महाराजगञ्ज र रत्नपार्कपछि राजधानीका अन्य क्षेत्रमा पनि भूमिगत विद्युत् वितरण प्रणाली विकास गर्ने प्राधिकरणको योजना रहेको छ ।

    स्मार्ट मिटरको पनि व्यवस्था हुने
    वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यसँगै प्राधिकरण स्मार्ट ग्रीडको व्यवस्था गर्न पनि लागिपरेको छ । एकैसाथ अघि बढ्ने यी कार्यले स्मार्ट विद्युत् वितरण प्रणाली विकासलाई अघि बढाउनेछ । ‘पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क क्षेत्रका उपभोक्तामा ९० हजार ओटा स्मार्ट मिटर वितरण हुनेछ,’ सिलवालले भने, ‘यसले विद्युत् वितरण प्रणालीलाई चुस्त र भरपर्दो बनाउनेछ ।’ स्मार्ट ग्रीडको सञ्चालनपछि रिमोट कण्ट्रोलबाटै विद्युत् वितरणलाई व्यवस्थित गर्न सकिन्छ । त्यसैगरी स्मार्ट मिटरको प्रयोगले हालसम्म मिटरका माध्यमबाट हुँदै आएका छली र महशुल भुक्तानी आदिका समस्या हल हुनेछन् ।

    भूमिगत विद्युत् वितरणका फाइदा

    • व्यवधानरहित नियमित विद्युत् प्रवाह
    • मर्मत सम्भारको कम आवश्यकता
    • दीर्घकालीन व्यवस्थापन
    • व्यवस्थित देखिने
    • पोलमा टाँगिएका तार चुँडिएर हुने खतराबाट मुक्ति
    • तारबाट हुने विद्युत् चोरी नियन्त्रण
    • भूमिगत तारमा कतै गडबडी आउनासाथै प्रणालीबाटै विद्युत् प्रवाह रोकिई क्षति हुन नपाउन               स्रोत:अभियान