बागलुङमा १० मेगावाटको दरमखोला जलविद्युत् आयोजना बन्ने

    926

    बागलुङ, २२ असोज । बागलुङमा १० मेगावाटको दरमखोला जलविद्युत् आयोजना बन्ने भएको छ । आयोजनाको पूर्वाधार निर्माण मङ्सिरदेखि सुरु हुनेछ ।

    तीनवर्षभित्र आयोजनाको काम पूरा हुने दरमखोला हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ । रु एक अर्ब ८२ करोडको लागत अनुमान गरिएको आयोजनाको सर्वे भइसकेको छ । आयोजना बनाउन ९० प्रतिशत सञ्चालक सेयर र १० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ ।

    सरकारसँग विद्युत् खरिद बिक्री सम्झौताको प्रक्रिया अघि बढेको आयोजना निर्देशक रुपकलाल श्रेष्ठले बताउनुभयो ।

    “आयोजनाको विस्तृत सर्वे, वातावरणीय अध्ययनजस्ता पूर्व तयारीका काम पूरा भइसकेका छन्”, निर्देशक श्रेष्ठले भन्नुभयो – “आउँदो मङ्सिरदेखि पूर्वाधारको काम सुरु हुन्छ, २०७६ पुसभित्र बत्ती बालिसक्ने लक्ष्य छ ।”

    यसअघि रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी संस्था लिमिटेडले बनाउने भनेको आयोजना लगानी जुट्न नसकेपछि दरमखोला हाइड्रो इनर्जी लिमिटेडले जिम्मा लिएको हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रबाटै लगानी जुटाउने जनाएको छ । बागलुङका तीन र गुल्मी जिल्लाका दुई गरी पाँच गाविसलाई कार्यक्षेत्र बनाई कम्पनीले काम सुरु गरेको छ । रिघा–३ मा ‘ड्याम’ र रिघा–७ मनेवामा विद्युत्गृह निर्माण गरिने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

    “एकसय २९ मिटरको हेडबाट प्रतिसकेन्ड १० हजार ५०० लिटर पानी प्रवाह हुनेछ”, उहाँले भन्नुभयो – “ड्याम र विद्युत्गृहसम्मको पाइपलाइनको दूरी चार हजार २०० मिटर हुनेछ ।” आयोजनाबाट उत्पादित विद्युत् सिधै केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।

    प्रभावित पाँच गाविस, गुल्मीको वामी इन्भेष्टमेन्ट कम्पनी प्रालि, सयपत्री हाइड्रोपावर कम्पनी र रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी लगानीकर्ताको रुपमा रहेका छन् ।

    बागलुङको रिघा, काँडेबास, मल्म र रिघाको वामी र अर्लाङकोट गाविस आयोजनावाट प्रभावित क्षेत्रमा पर्छन् । आयोजनामा दरमखोला जलविद्युत् सहकारीको २० प्रतिशत लगानी रहेको अध्यक्ष गङ्गा भुजेलले बताउनुभयो ।

    “सहकारी आफँैले लगानी जुटाउन नसकेपछि प्रालिमार्फत आयोजनाको काम अघि बढाउन लागेका हौँ”, अध्यक्ष भुजेलले भन्नुभयो – “आयोजनामा सहकारीको २० प्रतिशत लगानी रहेको छ ।”

    आयोजना निर्माणका लागि सहकारीले खरिद गरेको ३१९ रोपनी जग्गा कम्पनीले खरिद गरिसकेको छ । कुल लगानीका दश प्रतिशत सेयर सर्वसाधारणका लागि खुल्ला गरिने आयोजना व्यवस्थापनले जनाएको छ ।

    सदरमुकामदेखि पश्चिम ५६ किमीको दूरीमा रहेको आयोजनास्थल जिल्लाको मल्म, काँडेवास, रिघा गाविस र गुल्मी जिल्लाको अर्लाङकोट र वामी गाविसको बीच भागमा अवस्थित छ ।

    आयोजना सञ्चालनमा आउँदा वार्षिक पाँच करोड युनिटभन्दा बढी विद्युतीय ऊर्जा उपलब्ध हुने अनुमान छ । यसवाट वार्षिक रु ३० करोडभन्दा बढी आम्दानी हुने आयोजनाले जनाएको छ ।

    आयोजना बनेपछि जिल्लाको समग्र विकासमा समेत ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । जिल्लामा यसैवर्ष साढे दुई मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत् आयोजना बनेर सञ्चालनमा आइसकेको छ ।

    रासस