बजेट सक्न विद्युतविनै बिनायोजना गाउँ–गाउँमा बिजुलीका पोल गाडिए

    2806

    electricity-pole
    कालिकोट : बिनायोजना कालिकोटको पश्चिमी गाविस लालू, माल्कोट, कोटबाडा र कुमालगाउँमा बिजुलीका पोल र तार गाडिएका छन् । न ती गाविसमा विद्युत्को आयोजना बनेको छ न आयोजना बनाउने तयारी गरिएको छ । हचुवाका भरमा कर्णाली रोजगार कार्यक्रम र गाविसको बजेटबाट गाउँमा पोल र तार गाडिएका छन् ।

    लालू, माल्कोट, कुमालगाउँ र कोटबाडा गाविसमा गाविस र कर्णाली रोजगारको बजेटबाट खरिद गरिएका केही पोलहरू लालीघाट र जितेबजारमा अलपत्र अवस्थामा रहेको शिक्षक नवराज शाहीले बताए ।

    “गाविस र कर्णाली रोजगारको पैसा दुरुपयोग गर्न मात्र बिजुलीका पोल खरिद गर्ने निर्णय गरिएको छ ।” उनले भने, “विद्युत्को आयोजना नै नभएको ठाउँमा किन पोल र तार चाहियो ।”

    पोल गाडिएका गाविसमा विद्युत् आयोजनाको सर्भे भएकाले गाविसको बजेटबाट पोल खरिद गरिएको नेकपा एमाले कुमालगाउँका स्थानीय नेता टंक विष्टले बताए । “दुई ठाउँमा विद्युत् आयोजना सर्भे भएको छ,” उनले भने ।

    पोल र तारमा लालू गाविसले आव २०६७/०६८ कर्णाली रोजगार कार्यक्रमबाट ४५ लाख र गाविसको २७ लाख खर्च गरेको छ भने माल्कोट गाविसले पनि लाखौं खर्च गरेको छ । कुमालगाउँ गाविसले आव २०७०/७१ को विकासे अनुदानबाट २५ लाख रुपैयाँ खर्च गरेर पोल खरिद गरिएको अध्यक्ष विष्टले बताए ।

    गाउँमा विद्युत् आयोजनाको पूर्वाधार निर्माण नगरी विद्युत्का पोल र तार गाडिनुको मुख्य कारण आर्थिक दुरुपयोग रहेकोे लालूका सामाजिक अभियन्ता निर्मलकुमार बताउँछन् ।

    “विद्युत्का पोल र तारका नाममा आर्थिक सहायता दुरुपयोग गर्ने उद्देश्य देखिन्छ ।” उनले भने, “न विद्युत् आयोजना छ, न कतैबाट विद्युत् ल्याउने तयारी छ । हचुवाका भरमा विद्युत्का पोल गाडिनु मुख्य कारण आर्थिक दुरुपयोग नै हो ।” जिल्लामा ५ सय किलोवाटको शान्तिघाट साना जलविद्युत् आयोजना छ ।

    पोल गाडिएका गाविसमा नेपाल विद्युत् प्राधिकरण कालिकोट शाखासँग कुनै सम्पर्क नगरेको, त्यहाँ अहिले बिजुली लैजाने तयारी नरहेको शाखाका निमित्त प्रमुख तेजेन्द्रबहादुर शाहीले बताए । “ती गाविसमा विद्युत् लैजाने तयारी तत्काललै छैन्,” उनले भने, “पोल र तारको परीक्षण गर्नुपर्ने हुन्छ ।”

    स्रोत : कारोबार