पाँचथर पावर कम्पनी र स्थानीयवासीबीच सहमति

    1793

    पाँचथर । पाँचथरको हेंवाखोलामा हेंवा ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको पाँचथर पावर कम्पनी र असन्तुष्ट याङ्नाम–१ का स्थानीयवासी बीच सातबुँदे सहमति भएको छ ।

    पाँचथर उद्योग वाणिज्य सङ्घको मध्यस्थतामा आइतबार सम्पन्न छलफलले उक्त सहमति गरेको हो । छलफलबाट कम्पनीले उत्पादन गर्ने विद्युत् प्रसारण–वितरण लगायतका कार्यमा स्थानीयवासीले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्ने सहमति भएको छ ।

    त्यस्तै, कम्पनीले मानेटारदेखि खुङ्खोला सम्मका लागि ६ वटा ११ मिटरका पोलसहित नगद रु २० हजार उपलब्ध गराउने, पच्चिसे खानेपानीलाई आठ सय मिटर पोलेथिनपाइप, चिलिङ्देन खानेपानीलाई एक हजार पाँच सय मिटर प्लास्टिक पाइप उपलब्ध गराउने सहमति भएको छ ।

    यसैगरी कम्पनीले सो क्षेत्रका विभिन्न विकासका कार्यमा समेत आर्थिक तथा भौतिक सहयोग गर्ने सहमति भएको जनाइएको छ । छलफलमा कम्पनी र असन्तुष्ट पक्षका प्रतिनिधिसँगै जिल्लास्थित राजनीतिक दल र सरोकारवालाको समेत सहभागिता रहेको पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मित्र प्रसाद काफ्लेले जानकारी दिए ।

    रासस