नलगाडको मुआब्जा विवाद मिल्यो

    1560

    काठमाडौँ, फागुन २७ गते । लामो समयदेखि रोकिएका मुआब्जा वितरणको समस्या समाधान भएपछि नलगाड जलविद्युत् आयोजनाको रोकिएको कार्य सुचारु हुनेभएको छ ।

    नलगाड जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह भण्डारीका अनुसार विद्युत्गृह निर्माण क्षेत्रमा बसोवास गरिरहेका १८ घरधुरीको मुआब्जाको रकमको विवादले अवरुद्ध भएको काम स्थानीय जिल्ला प्रशासन मार्फत वितरण गर्ने गरी मुआब्जा समेत निर्धारण भएको छ । निर्धारण गरिएको मुआब्जाको रकमसँग स्थानीय बासिन्दा सहमत भएपछि सो रकम जिल्ला प्रशासन कार्यालय जाजरकोटको खातामा जम्मा गरिएको र अब केही दिनभित्रै सो रकम स्थानीय व्यक्तिलाई वितरण गरिने भएको छ ।

    प्रमुख कार्यकारी अधिकृत भण्डारीले भन्नुभयो, पावर हाउस निर्माणका लागि चाहिने कच्चा पदार्थ भण्डारण गर्न, जनशक्तिको तथा उपकरणका लागि क्याम्प निर्माण गर्न र सुरक्षाका लागि नेपाली सेनालाई बस्ने ठाउँ निर्माण गर्नका लागि केही जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्नुपर्ने काम सहजताका साथ अगाडि बढेको छ । स्थानीय राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला सबैलाई राखेर भएको छलफलले त्यो विषय टुङ्ग्याएपछि आयोजनाले मुआब्जा रकम स्थानीय जिल्ला प्रशासनको खातामा जम्मा गरिसकेका छौँ । अब काम सुचारु हुन्छ ।

    विद्युत्गृह र बाँधस्थलसम्मको पहुँच मार्ग निर्माण र भौगर्भिक अध्ययनका लागि विस्फोटक पदार्थ नेपाली सेनाले उपलब्ध गराएपछि सडक निर्माण र अध्ययनको काम पनि अगाडि बढेको छ ।

    विस्फोटक पदार्थ नहुँदा विद्युत्गृह र बाँधस्थलसम्मको पहुँच मार्गको काम र भौगर्भिक अध्ययनका लागि ड्रिलिङ गर्ने काम रोकिएको थियो । नेपाली सेनाले दुवै कामका लागि हाल आवश्यक विस्फोटक पदार्थ उपलब्ध गराउने भएको छ ।
    आयोजनाको फिल्डस्तरको अनुगमनपश्चात प्रमुख कार्यकारी अधिकृत भण्डारीले भन्नुभयो, अब विद्युत्गृह र सुरुङ मार्गसम्मको पहुँच मार्गको काम र अध्ययन अनुसन्धानको कामले गति लिएपछि स्थानीय बासिन्दाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    यसअघि छ महिनासम्म जेनेरेटर र ड्रिलिङ मेसिन ढुवानी हुन नसक्दा विस्तृत अध्ययन, इन्जिनियरिङ डिजाइनको कार्य पनि प्रभावित हुन पुगेको थियो । हाल सो अध्ययनका लागि आवश्यक पर्ने सबै उपकरण ढुवानी भइसकेपछि ‘फिल्ड इन्भेस्टिगेसन’ को कार्य पनि अगाडि बढेको आयोजनाले जनाएको छ । भण्डारीले भन्नुभयो, ड्रिलिङ गर्ने कार्य, हाइड्रोलोजिकल तथा जुओलोजिक म्यापिङ गर्ने कार्य सुरु भइसकेको छ ।

    आयोजनाकोे विस्तृत अध्ययन, इन्जिनियरिङ डिजाइन गर्नका लागि स्मेक अस्टे«लिया, एमएचडब्लू अमेरिका र नेपालको उदय कम्पनीले काम गरिरहेको छ । फिल्ड अध्ययनका लागि आगामी अप्रिलसम्म समय दिइएकाले यो बीचको अवधिमा परामर्शदाता कम्पनीले काम गर्न नसक्दा निर्धारित समयमा काम सम्पन्न नहुन सक्ने स्थिति देखिएको छ ।

    स्रोत:गोर्खापत्र