नर्थ विहारले बिजुलीको भाउ युनिटको २ रुपैयाँ बढायो, प्रसारणलाइन शुल्क र चुहावट बाहेक युनिटको ११ रुपैयाँ

    1717

    काठमाडौं । भारतको विहारले नेपाललाई दिने बिजुलीको भाउ बढाएको छ । भारतको नर्थ विहार पावर डिष्ट्रिव्युसन कम्पनी लिमिटेडले गत मार्चदेखि नेपाललाई दिने बिजुलीको भाउ झण्डै २२ प्रतिशत बढाएको हो । भाउ बढाएसँगै विहारबाट आयात हुने बिजुली महंगिएको छ । यसले नेपाल विद्युत् प्राधिकरणको वित्तीय अवस्थामा असर गर्नेछ ।

    सन् २०१३ मा नेपाल विद्युत् प्राधिकरण र विहार इलेक्ट्रिसिटी वोर्डबीच भएको सम्झौताअनुसार बिजुलीको भाउ बढाएको हो । सन् २०१३ मा नेपाल विद्युत् प्राधिकरण र विहारको वोर्डबीच ५० मेगावाट माथि बिजुली खरिद गर्दा बिजुलीको भाउ साढे ५ प्रतिशत बढाउने सहमति भएको थियो । सोही सहमति बमोजिम नर्थ विहारले बिजुलीको भाउ गत मार्चदेखि प्रतियुनिट १ रुपैयाँ ९६ पैसा बिजुलीको भाउ बढाएको विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

    गत मार्च अघि प्रसारण शुल्क र चुहावट बाहेक प्रतियुनिट ८ रुपैयाँ ८८ पैसा (५ रुपैयाँ ५५ पैसा भएकोमा गत मार्चदेखि बढाएर प्रतियुनिट प्रसारणलाईन शुल्क र चुहावट बाहेक १० रुपैयाँ ८४ पैसा (६ रुपैयाँ ७८ पैसा भारु) पुर्याएको उनले जानकारी दिए । प्रसारणलाइन शुल्क र चुहावट गरी प्रतियुनिट १२ रुपैयाँसम्म पुग्ने अधिकारीको भनाइ छ ।

    सन् २०१३ मा भएको सम्झौतामा ५० मेगावाट भन्दा बढी बिजुली खरिद गर्दा वार्षिक साढे ५ प्रतिशत बढाउने सम्झौता भएको कारण देखाउदै नर्थ विहारले बिजुलीको भाउ बढाएको हो । विद्युत् प्राधिकरणले बिजुलीको भाउ तिर्न अस्वीकार गर्दे आएको उनले जानकारी दिए । प्राधिकरणले यस विषयमा छलफल गर्न छिट्टो बैठक बस्न विहार इलेक्ट्रिसिटी बोर्डलाई अनुरोध गरेको छ ।

    बैठकमा यस विषयमा असहमति राख्ने तयारी प्राधिकरणको छ । ५० मेगावाटसम्म नेपाल भारत विद्युत् आदनप्रदान सम्झौता अनुसार खरिद गर्दे आएको छ । नर्थ विहारको बिजुली कटैया–कुसाहाबाट १३०, रामनगर–सुरजपुराबाट ३० मेगावाट बिजुली आयात भइरहेको छ ।

    यस्तै विद्युत् आदनप्रदान समितिको बैठक बोलाउन प्राधिकरणले भारतीय पक्षलाई अनुरोध समेत गरेको छ । सन् २०११ देखि समितिको बैठक बसेको छैन् । सन् २०१३ मा बस्ने भनेपनि हालसम्म हुन सकेको छैन् ।

    स्रोत:बाह्रखरी