दम्तीमा विद्युत् सब–स्टेसन बन्दै

    1522

    चैत्र २, २०७३- प्यूठान नगरपालिकास्थित दम्तीमा बन्न लागेको सब–स्टेसनको काम निर्धारित समयमै पूरा हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण प्यूठानका अनुसार ०७४ असारसम्ममा सब–स्टेसनको काम सकिनेछ ।

    वितरण केन्द्र प्रमुख कृष्णहरि दाहालले ७ करोड ५० लाख रुपैयाँको लागतमा सब–स्टेसन बन्न लागेको बताए । ०४९ देखि जिल्ला परिषद्बाट पास गर्दै सब–स्टेसन निर्माणको माग गरेको प्यूठान उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष इमानसिह भारतीले बताए । ‘लामो समयदेखि माग गरेको योजनाको काम भइरहेको छ,’ भारतीले भने, ‘सब–स्टेसन नहुँदा उद्योग व्यवसायीहरूले निकै समस्या भोग्नु परेको थियो ।’ ३३ केभी लाइनलाई परिवर्तन गरी ११ केभी ३ एमबीए सब–स्टेसन निर्माण गर्न थालिएको प्राधिकरणले जनाएको छ ।

    जिल्लामा छिन–छिनमै आउने जाने विद्युत् समस्या सब–स्टेसन निर्माणपछि समाधान हुने केन्द्र प्रमुख दाहालले बताए । ‘जिल्लाबाटै विद्युत् उत्पादन भए पनि विद्युत् अनियमितताको समस्या भइरहेको छ,’ उनले भने, ‘अब समस्या हुने छैन ।’ उनले ०७४ असारसम्म सब स्टेशनको निर्माण निर्धारित समय भएको बताए । निर्माणको जिम्मा आरके इन्टरनेसनल निर्माण कम्पनीले लिएको छ ।

    स्रोत::कान्तिपुर