कुलेखानी तेस्रो चैतमा सक्ने दाबी

    2736

    कार्तिक ७, २०७३- सरकारी लगानीमा निर्माण भइरहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजना सक्न नयाँ प्रतिबद्धता आएको छ । आयोजनाका प्रमुख र चिनियाँ निर्माण कम्पनीले ऊर्जामन्त्रीसमक्ष चैतभित्र निर्माण सक्ने प्रतिबद्धता जनाएका हुन् । ऊर्जामन्त्री जनार्दन शर्माले आयोजना छिटो सम्पन्न गर्न निर्देशन दिएपछि प्रमुख सुभाषकुमार मिश्र र इलेक्ट्रो मेकानिकलको ठेक्का पाएको चाइनिज कम्पनी जिज्याङ जिन्लुङका प्रतिनिधि शरद गोल्छाले ०७३ साल चैत महिनासम्म निर्माण कार्य सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।

    आयोजनाको सिभिल वर्क ९७ प्रतिशत सम्पन्न भइसकेको छ । ‘इलेक्ट्रो मेकानिकलको ढिलासुस्तीले सिभिल वर्कको काम नसकिएको हो,’ आयोजना प्रमुख मिश्रले भने, ‘चिनियाँहरू यहाँ बस्दैनन, काम पनि नियमित ढंगले हुँदैन ।’

    इलेक्ट्रो मेकानिकलले आगामी पुसको १६ गते सम्पन्न गर्ने गरी विद्युत् प्राधिकरणले पाँचौं पटक म्याद थप गरेको थियो । इलेक्ट्रो मेकानिकलको ठेकेदार कम्पनीको ढिलासुस्तीले कुलेखानी–३ पाँचौं पटक थप गरिएको समयमा पनि सम्पन्न नहुने भएको हो । पाँचौं पटक म्याद थप गर्दा पनि इलेक्ट्रो मेकानिकलको निर्माण कम्पनीले सुस्तगतिमा काम गरिरहेको छ । थपिएको म्याद सकिन साढे ३ महिना बाँकी भए पनि मेकानिकलको निर्माण कम्पनीले तीव्र गतिले काम गरेको छैन ।

    मन्त्रीसमक्ष गरेको लिखित प्रतिबद्धता पूरा गर्न ठेकदार कम्पनीको तर्फबाट चिनियाँ आएर अनुगमन गर्नुपर्छ आयोजना प्रमुख मिश्रले भने, ‘हुलासले विद्युत्गृहमा जडान गर्ने केही उपकरणहरू उत्पादन गरिरहेको छ, बाँकी चीनबाट आयात गर्नुपर्छ ।’ सिभिल वर्कको ठेक्का पाएको निर्माण कम्पनीले विद्युत्गृह निर्माण गरिसकेको छ ।

    विद्युत्गृहभित्र टर्वाइन,जेनेटर, कन्ट्रोलर उपकरण, कोलिङ प्रणाली जडान गर्नुपर्छ ।

    विद्युत्गृहभित्र जडान गर्नुपर्ने अधिकांश उपकरणहरू चीनबाट आउने क्रम छ । ‘इलेक्ट्रो मेकानिकलको ठेकेदार कम्पनीका कारण कुलेखानी–३ को निर्माण कार्य ढिला भएको आयोजनाका एक प्राविधिकले उक्त कम्पनीलाई १० प्रतिशत हर्जाना रकम पनि असुली गरिसकेको छ ।’ विद्युत् प्राधिकरणको २०७३ जेठ ६ गते बसेको बैठकले कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य वैशाखको पहिलो सातामा पनि सम्पन्न नभएकाले पाँचौं पटक म्याद थप गरिएको थियो ।

    चौथो पटक थपिएको समय अवधिमा आयोजनाको निर्माण कार्य सम्पन्न नभएकाले सात महिना म्याद थप गरिएको विद्युत् प्राधिकरणले जनाएको छ । वैशाख ६ गतेसम्म आयोजनाको निर्माण कार्य सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणले चौथो पटक म्याद थप गरेको थियो । उक्त अवधिमा पनि काम नसकेपछि प्राधिकरणले सन् २०१६ डिसेम्बर ३० तारेखसम्म म्याद थप गरिएको थियो ।

    प्राधिकरणले यो अवधिमा निर्माण कार्य सम्पन्न गरिसक्न पनि निर्देशन दिएको थियो । उक्त अवधिमा पनि सम्पन्न नहुने भएकाले आगामी चैत मसान्तसम्म निर्माण कार्य सक्ने लिखित प्रतिबद्धता जनाएका हो । इलेक्ट्रो मेकानिकलतर्फ मुस्किलले ६० प्रतिशत पनि काम सकिएको छैन । सिभिल वर्कतर्फ ९७ प्रतिशत सकिएको छ । आयोजनाको ७७ प्रतिशत काम सकिएको छ । निर्माण कार्य ढिला भएकाले आयोजनाको लगानी पनि बढ्दै गएको छ ।

    करिब ५ अर्बभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ ।

    २०६४ चैतदेखि काम सुरु गरिएको उक्त आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । उक्त अवधिमा काम नसेकपछि पहिलो पटक ३० महिना म्याद थपिएको थियो । उक्त समयमा पनि काम सम्पन्न नभएपछि ९ महिना म्याद थप गरियो । तेस्रो ३ महिना र चौथो अर्थात् २०१५ अक्टोबर १५ बाट २०१६ अप्रिल १८ सम्म ६ महिना म्याद गरेको थियो ।
    चौथो पटक थप गरिएको समयमा आयोजना सम्पन्न नभएपछि प्राधिकरणले ८ महिना अर्थात् २०१६ डिसेम्बरसम्म म्याद थप गरेको थियो ।

    कान्तिपुर