‘ त्रिशूली थ्री ए’ को काम पुनः सुरु

    1340

    विदुर : विनाशकारी भूकम्पका कारण दुई वर्षदेखि अवरुद्ध माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको काम पुनः सुरु भएको छ । आयोजनामा विद्युतीय लाइनको काम ७५ प्रतिशत पूरा भएको छ ।

    कुल ११ अर्ब रुपैयाँ लागतमा निर्माणाधीन यो आयोजनामा भूकम्पले व्यापक क्षति पुगेपछि काम ठप्प भएको थियो । नुवाकोट र रसुवाको सीमानामा निर्माणाधीन यो आयोजनाको क्षमता ६० मेगावाट छ । भूकम्पले आयोजनामा २५ करोड रुपैयाँभन्दा बढिको क्षति पुगेको थियो । नुवाकोटको मनकामना र रसुवाको डाँडागाउँ क्षेत्र निर्माणस्थल रहेको आयोजनाको काम विद्युत् गृह र प्रसारण लाइन निर्माण गरी दुई तहमा निर्माण भइरहेको आयोजनाका सहायक प्रमुख अम्बिका झाले जानकारी दिनुभयो । उहाँले चार हजार ६ सय मिटर लामो सुरुङमध्ये दुई सय सात मिटर मात्र खन्न बाँकी रहेको बताउनुभयो । गत सन् २०११ मे १ देखि निर्माण सुरु भएको आयोजना सन् २०१९ को अप्रिलसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । निर्माण अवधि पहिले तीन वर्ष रहेकामा दुईपटक थप भइसकेको छ ।

    आयोजनाको पहिले २६ महिना र पछि ३४ महिना निर्माण अवधि थप गरिएको हो । भूकम्प र अन्य अवरोधका कारण आयोजना निर्धारित समयावधिभित्र सक्न नपाएको निर्माण पक्षले जनाएको छ । आयोजना पहिले सन् २०१६ जुन ३० तारिखसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य थियो । हाल भूमिगत विद्युत् गृहमा संरचनाका लागि खन्ने कार्य भइरहेको छ । पहिले कुल आठ करोड ९० लाख अमेरिकी डलर अर्थात् आठ अर्ब नेपाली रुपैयाँमा निर्माण लागत रहेकामा हाल लागत बढेर ११ अर्ब पुगेको छ ।

    विद्युत् गृहको संरचना निर्माणका लागि तयारी भइरहेको छ । समग्रमा आयोजनाको निर्माण कार्य ७० प्रतिशत पूरा भएको छ । जलविद्युत्् गृह नुवाकोट मनकामनाको शान्ति बजारदेखि त्रिशूली हुँदै धादिङ छत्रे देउराली नागढुंगाबाट मातातीर्थसम्म ४६ किलोमिटर लामो प्रसारण लाइनको काम भइरहेको सहायक आयोजना प्रमुख अम्बिकेश झाले जानकारी दिनुभयो । भूकम्पपछि आएको पहिरोले नुवाकोटको मनकामना सिम्लेदेखि आयोजनाको बाँधस्थल रसुवाको डाँडागाउँसम्म पाँच किलोमिटर लामो सडकमा व्यापक क्षति पुर्‍याएको थियो । बाटो निर्माण गरिसकेर आयोजनाको निर्माण सञ्चालन गरिएको हो ।

    भूकम्पपछि नेपाली र चिनियाँ कामदार आयोजनाको काम छाडेर हिडेकामा हाल केही फर्किन थालेका छन् । भूकम्पले आयोजनास्थल-गेर्खु-मातातीर्थ प्रसारण लाइनको एक सय ४४ वटा विद्युतीय टावर निर्माणमा समस्या आएकामा हाल समाधान गरिएको छ । आयोजनाको काम चिनियाँ निर्माण कम्पनी गेजुवाले गरिरहेको छ ।

    पहिले आयोजनामा तीनसय ५६ जना चिनियाँ र तीन सय ५० नेपाली कामदार कार्यरत रहेकोमा अहिले आधा मात्र छन् । आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको अवस्थामा भूकम्प गएको थियो । चीनको एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा आयोजनाको निर्माण कार्य भइरहेको छ । नेपाल सरकारले सन् २०१६ मेदेखि एक्जिम बैंकलाई ऋण रकमको एक दशमलव ७५ प्रतिशत ब्याज तिर्नुपर्ने गरी सम्झौता गरेको छ ।

    आयोजनाको ६० प्रतिशत टावर वन क्षेत्रमा निर्माण गर्नुपर्नेछ । प्रसारण लाइनका लागि चाइनिज कम्पनी चाइना इन्टरनेसनल वाटर एन्ड कर्पोरेसनले एक सय ४५ वटा टावर निर्माणको अनुमति पाइसकेको छ । विद्युत् प्राधिकरणमार्फत निर्माण भइरहेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको ६० वटा टावरको पूरै र टावरमुनिको जग्गाको १० प्रतिशत मुआब्जा दिने नीति छ । आयोजनास्थल मनकामनाको अर्चलेदेखि मातातीर्थसम्म २४ सामुदायिक वन क्षेत्र हुँदै प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ । इन्फोनुवाकोट र रसुवाको सीमानामा निर्माणाधीन यो आयोजनाको क्षमता ६० मेगावाट छ । भूकम्पले आयोजनामा २५ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो ।

    स्रोत:अन्नपूर्ण पोस्ट