त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजना: काम सुरु, रकम आएन

    2056

    नुवाकोट, साउन ४ गते  ।  महाभूकम्पले क्षति पु¥याएको करिब दुई वर्षपछि त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा निर्माण ठेकेदार कम्पनीले प्रारम्भिक जाँच र अध्ययनको कार्य थालनी गरेको छ ।  जलविद्युत् आयोजनामा बाँध क्षेत्र (ड्याम साइड) लाई अन्यन्तै संवेदनशील (क्रिटिकल पाथ) मान्ने गरिन्छ ।  यो आयोजना ६० मेगावाट उत्पादन क्षमताको हो ।

    आयोजना प्रमुख फणिन्द्रराज जोशीका अनुसार सिभिलतर्फको निर्माण ठेकेदार कम्पनीले धेरै पटक विज्ञ समूहमार्फत भूकम्पपछि पुगेको क्षतिबारे अध्ययन गराएको छ ।  उनीहरूले दिएको प्रतिवेदनमा अध्ययन गरी प्रतिवेदनमा औंल्याइएका कुरालाई सच्याउने, पुनः अध्ययन गर्न लगाउने कार्य पनि भइरहेको छ ।

    अहिले बाँध क्षेत्रमा भरिएको पानीलाई तर्काइ प्राविधिकले प्रारम्भिक सरसफाइ गर्ने कामहरू गरिरहेका छन् ।  बाँध क्षेत्रको मर्मत सम्भार तथा पुनर्निर्माण गरी पुरानै अवस्थामा फर्काउनका लागि ठेकेदार कम्पनीले सन् २०१७ र २०१८ को सुख्खा यामलाई सदुपयोग गर्ने कार्ययोजना प्राधिकरणमा पेस गरेको छ ।  बाँध क्षेत्रमा पानी निकासका लागि चारवटा ढोका निर्माण गरिसकिएका छन् ।  बाँध क्षेत्रका जग (फाउण्डेसन) मा गम्भीर रूपमा क्षति पुगेको हुनसक्ने अनुमान प्राधिकरणले गरिरहेको छ ।

    उहाँले भन्नुभयो– “ठेकेदार कम्पनीका तर्फबाट विज्ञ टोलीले अध्ययन गरिसकेका तर बाहिर सर्सर्ति हेर्दा ठीकै देखिए पनि प्राविधिक रूपमा बिग्रेका, भत्केका संरचनाको हामी पनि पुनः अध्ययन गर्छांै, उनीहरूको प्रतिवेदनलाई केलाउँछौँ ।  प्रतिवेदनमा नसमेटिएका कुरालाई समेटेर काम गर्न हामीले निर्देशन दिने गरेका छौँ । ”

    भूकम्प जानुअघि नै अधिकांश काम सम्पन्न भइसकेका आयोजना स्थलसम्म पुग्ने मुख्य सडक, भित्री बाटोघाटो, सुरुङ, पावर हाउसलगायतका संरचनामा पुगेको क्षतिको अध्ययन गरी ती क्षेत्रको सरसफाइ गर्ने काम सम्पन्न भएको छ ।  आयोजनाको सिभिलतर्फको काम झण्डै ८० प्रतिशत सम्पन्न भएको भए पनि भूकम्पले सुरुङ, पावर हाउस, ड्याम साइटमा निर्माण भएका सबै संरचना भत्काइदिएपछि आयोजनाको निर्माण गर्नसकिन्छ कि सकिँदैन भन्ने दोधार भएको थियो ।  अब भने काम अगाडि बढ्ने निश्चित भएको छ ।

    आयोजना प्रमुख जोशीले भन्नुभयो– “ड्याम साइडलाई क्रिटिकल पाथ मानिन्छ ।  त्यसैले ड्याम साइटमा कतिपय नदेखिने गरी क्षति पुगेको हुनसक्छ ।  त्यसको गहन र सघन रूपमा अध्ययनको  थालनी भएको छ ।  अध्ययन प्रतिवेदनले औंल्याइएका कुराको मर्मत सम्भार र पुनर्निर्माण गरी अगाडि बढ्ने योजना हामीले बनाएका छौँ । ”
    महाभूकम्पले आयोजना निर्माण सम्पन्न भएका र निर्माणाधीन अधिकांश संरचनामा क्षति पु¥याएपछि सिभिल कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पाेरेसन (सीजीजीसी) ले लामो समयसम्म काम सुरु गर्नसकेको थिएन ।  सुरुको चरणमा आफूले काम गर्न नसक्ने बताउँदै आएको ठेकेदार कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँगको लामो छलफलपछि मात्र पुनः निर्माणको काम गर्न सहमत भएको हो ।  भूकम्पले क्षति पु¥याएको भागको लागत प्राधिकरणले तिर्नुपर्ने दावी गर्दै आए पनि हाल भने सीजीजीसी पुरानै सम्झौताअनुसार काम गर्न सहमत भएको छ ।

    भूकम्पले क्षति पु¥याएको संरचनाको मर्मत सम्भार तथा पुनर्निर्माण गर्दा सम्झौता अनुसारको समयमा निर्माण सम्पन्न गर्न नसकिने भएकाले सन् २०१६ को नोभेम्वर महिनामा ठेकेदार कम्पनीले नयाँ कार्यतालिका पेस गरेको छ र त्यसलाई प्राधिकरणले स्वीकृत पनि गरिसकेको जनाइएको छ ।  सन् २०१६ को जुन ३० सम्म निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको यो आयोजनालाई भूकम्पपछि सन् २०१९ अप्रिल ३० सम्म पूरा गर्ने लक्ष्यसहितको कार्यतालिका रहेको छ ।  आयोजना निर्माण गर्न लाग्ने सबै लगानी (७९४ मिलियन चिनियाँ रुपियाँ) नेपाललाई चिनियाँ एक्जिम बैंकले दिने सम्झौता भएको छ ।

    ऋण सम्झौता अझै नवीकरण भएन 
    जलविद्युत् आयोजनाको निर्माणका लागि ऋणदाताको रूपमा रहेको चिनियाँ एक्जिम बैंकसँगको ऋण सम्झौता सन् २०१६ मे १८ बाट समाप्त भएको छ ।  ऋण पुनः सम्झौताका लागि नेपालका तर्फबाट लामो प्रयास भए पनि सकारात्मक परिणाम निस्कन सकेको छैन ।  ऋण सम्झौता नवीकरण हुन नसकेपछि आयोजनाका कामहरू प्रभावित हुन थालेका छन् ।
    महाभूकम्पको प्रभाव र ऋणदातासँगको ऋण सम्झौता नवीकरण हुन नसक्दा आयोजना करिब तीन वर्ष पछि धकेलिएको छ ।  अर्थ मन्त्रालय मन्त्रालय स्रोतका अनुसार धेरैपटकको लिखित र अनौपचारिक अनुरोध गरिए पनि एक्जिम बैंकले हालसम्म ऋण सम्झौताका लागि सकारात्मक कुरा गरेको छैन ।
    आयोजना प्रमुख जोशीका अनुसार ऋण सम्झौता नवीकरण नभएकाले आयोजनाको प्रशारण लाइन निर्माण चिनियाँ कम्पनी सीडब्लुईले काम गर्न छाडेको छ ।  सो कम्पनीलाई तिनुपर्ने रकम भुक्तानी नभएपछि निर्माण कम्पनीले काम गर्न छाडेको हो ।
    नुवाकोटको सिम्लेदेखि काठमाडौँको मातातीर्थसम्मको ४५ किलोमिटरमा १४२ वटा टावर खडा गरी प्रशारण लाइन निर्माण गर्नुपर्ने काम ऋण सम्झौता नवीकरण नहुँदा प्रभावित भएको हो ।  १४२ वटा टावरमध्ये ९० वटा टावरको फाउण्डेसन निर्माण भइसके पनि पछिल्लो केही महिनामा ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि काम रोकेको छ ।
    प्रशारण लाइन निर्माणका लागि २६ वटा सामुदायिक वनमध्ये २५ वटा सामुदायिक वनभित्रका रूख काट्ने काम पनि सम्पन्न भइसकेको आयोजना प्रमुख जोशीले बताउनुभयो ।  उहाँले भन्नुभयो, हामीले २५ वटा सामुदायिक वनभित्र प्रभावित हुने स्थानका रूख काट्न सफल भएका छौँ तर काठमाडौँको मातातीर्थ सामुदायिक वनमा भने अलि जटिलता देखिएको छ ।

    लक्ष्मीप्रसाद उपाध्याय