तीन दिनदेखि खोटाङमा बिजुली अवरुद्ध, बिग्रिएको ठाउँ नै पत्ता लागेन

    1286

    खोटाङ:  खोटाङमा तीन दिनदेखि अवरुद्ध विद्युत्को आपूर्ति अझै हुन सकेको छैन । दिक्तेल-गाईघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा गत आइतबार साँझदेखि विद्युत् अवरुद्ध भएको हो ।

    अवरुद्ध विद्युत् मर्मतका लागि प्राविधिक टोली खटाइसकिएको नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय दिक्तेलले जनाएको छ । आइतबार राति चलेको हावाहुरीले रसुवा आसपासमा तार चुँडाएको अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।

    विद्युत् अवरुद्ध हुँदा खोटाङका साथै छिमेकी जिल्ला ओखलढुङ्गाको जनजीवनसमेत प्रभावित भएको छ ।

    बिजुली नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयका काम, वित्तीय कारोबार, व्यापार-व्यवसाय सञ्चालनमा समस्या हुनुका साथै जिल्लामा सञ्चालित विद्युतीय तथा छापा सञ्चारमाध्यमको प्रकाशन र प्रसारणमा समेत असर पुगेको छ ।

    जिल्लामा पटकपटक लामो समयसम्म विद्युत् अवरुद्ध गराइएको भन्दै स्थानीय उपभोक्ता आक्रोशित भएका छन् । उनीहरुले प्राधिकरणका कर्मचारीको लापर्बाहीले विद्युत् अवरुद्ध भएको आरोप लगाएका छन् ।

    स्रोत:कारोबार