तामाकोसीको काम ८४ प्रतिशत सकियो

    1545

    श्रावण १८, २०७४- माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य ८४ प्रतिशत सकिएको छ। असार मसान्तसम्मको कार्यप्रगति सार्वजनिक गर्दै आयोजनाले उक्त जानकारी दिएको हो।

    करिब डेढ वर्षभित्र ४ सय ५६ मेगावाटको विद्युत् उत्पादन गर्ने अनुमान गरिएको आयोजनाको पूर्वनिर्धारित लागत ३५ अर्ब २९ करोडमध्ये ३४ अर्ब ६४ करोड रुपैयाँ खर्च भइसकेको प्रगति विवरणमा उल्लेख छ। भूकम्पको क्षति, भारतले गरेको नाकाबन्दी र पुष्पलाल मार्गको लामोसाँघु–जिरी सडकखण्ड स्तर वृद्धिका कारण पूर्वनिर्धारित लक्ष्यभन्दा काम करिब दुई वर्ष ढिला हुन गएको आयोजनाको दाबी छ।

    लागत वृद्धिको प्रक्षेपणअनुसार आयोजनाको कुल खर्च बढेर ४१ अर्ब ७२ करोड रुपैयाँ हुन सक्ने अनुमान छ। विपत्ति र विभिन्न व्यवधानले खर्च बढेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए। उनका अनुसार सुरुङ खन्ने, विद्युतगृह र ट्रान्सफर्मरको कार्य शत प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

    स्रोत : कान्तिपुर