ऊर्जा क्षेत्रमा लगानी गर्न अमेरिका इच्छुक

    1302


    काठमाडौं , १८ साउन , २०७४ ।

    अमेरिकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गरेको छ । अमेरिकी कार्यबाहक राजदुत मिचेल सी गोञ्जालेजले आज ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई भेटी आफ्नो देश ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक भएको बताउनुभएको हो । ऊर्जामन्त्रालयमा भएको भेटमा राजदुत गोञ्जालेजले अपर कर्णाली परियोजना र अरुण तेस्रो परियोजनाको बारेमा पनि चासो व्यक्त गर्नुभएको थियो । उहाँले यी परियोजनाहरु अहिलेसम्म बन्न नसक्नुको कारणबारे ऊर्जा मन्त्री शाहीसंग जिज्ञासा राख्नुभएको थियो । जवाफमा ऊर्जामन्त्री शाहीले नेपालमा झोलामा खोला बोकेर दलाल र माफियाहरुले काम नगरिरहेकाले यस्ता समस्याहरु सृजना भएको बताउनुभयो । उहाँले अपर कर्णाली र अरुण तेस्रो परियोजना जस्ता आयोजनाहरु समयमै संचालन गर्न नसक्नुमा निमार्ण कम्पनिहरुले ढिलासुस्ती गरिरहेको भन्दै उनीहरुले समयमै काम संचालन गर्न नसक्ने हुन भने सम्झौता रद्ध गर्ने तयारी गरिएको बताउनुभयो । ऊजामन्त्री शाहीले समयमै काम नगर्ने कम्पनिहरुसंग एकपटक छलफल गरि समयावधि तोक्ने र समयाधिभित्र काम नगर्ने कम्पनिको लाईसेन्स समेत खारेज गर्ने नीतिगत व्यवस्था समेत गर्ने बताउनुभयो ।