जलविद्युत्को ‘हब’ बन्दै कालिकोट

    1564

    कालिकोटः कालिकोट जलविद्युत् ‘हब’ बन्ने प्रक्रियामा लम्कँदै छ । ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला–२ जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् भने १६ मेगावाटको पादमघाट र ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत्ले पनि ऊर्जा मन्त्रालयबाट अनुमति पाएका छन् । यी आयोजना बनेमा १ हजार ३१२ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

    कर्णालीको आर्थिक विकासको आधारका रूपमा रहेको जल, जंगल र जडिबुटीको उपयोगमा यो वर्ष निकै ठूला उपलब्धि भएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाही बताउँछन् । “कर्णालीको आर्थिक विकासको आधार जल, जंगल र जडिबुटी हुन्,” उनले भने ।

    सरकारले हालै कालिकोटमा आयोजनास्थल रहेको फुकोट कर्णाली जलविद्युत् आयोजना अध्ययन तथा निर्माणको ढाँचासमेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले तिला १ र तिला २ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (मस्यौदा) गरिसकेको छ । दुई जलविद्युत् आयोजनाको प्रवद्र्धक एससी कम्पनीले तीन वर्षअघि नै यो कम्पनीले विद्युत् विकास विभागमा निर्माण अनुमतिको लागि आवेदन दिएको थियो ।

    तर विद्युत् खरिद सम्झौता तथा प्रसारणलाइन सम्बन्धी सम्झौता रोकिएको बेला ऊर्जामन्त्री जनार्दन शर्माको पहलमा प्राधिकरणसँग सम्झौता पत्रमा हस्ताक्षर भएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

    “प्राधिकरण र एससी कम्पनीबीच अहिलेकै निर्देशिका अनुसार विद्युत् खरिद गर्ने र सन् २०२४ सम्ममा प्रसारणलाइनमा जोड्ने विषयमा समझदारी भएको छ ।” उनले भने, “यी दुवै पिकिङ रन अफ दि रिभर आयोजना हुन् । पिकिङ रन अफ दि रिभरको मापदण्डअनुसार नै यसको पीपीए भएको छ ।”

    ४२० मेगावाटको तीला–१ परियोजनाबाट कालिकोटका तिलागुफा नगरपालिका, कालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुन् । तिला दुईमा पनि यिनै क्षेत्र प्रभावित हुने विद्युत् निर्माण प्रवद्र्धक कम्पनी एसी पावर आयोजनाका प्राविधिक दर्बबहादुर शाहीले बताए ।

    आयोजनाहरूको निर्माण सन् २०२३ मा सक्ने लक्ष्य राखिएको छ । तर, प्राधिकरणले तयार पारेको प्रसारणलाइन गुरुयोजनाअनुसार, त्यस क्षेत्रमा प्रसारणलाइन सन् २०२५ सम्म बन्ने प्राविधिक शाहीले बताए । “तिला–१ र तिला–२ मा गरी झण्डै २७ किमि दूरीको सुरुङ बनाउनु पर्छ ।” उनले भने, “प्रसारणलाइन कोहलपुरसम्म जोड्नु पर्ने हँुदा अझ थप समय लाग्ने छ ।”

    त्यस्तै फुकोट कर्णाली आयोजना कम्पनीले जिम्मा लिएको छ । यो आयोजनाको क्षमता ४२६ मेगावाट छ । आयोजनाको लागत करिब  ६१ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ । जलविद्युत् आयोजनामा स्थानीय सेयरलगायत रोजगारीको अवसर जुट्ने भएकाले यहाँका स्थानीयबासी निकै उत्साहित छन् ।

     

    स्रोत : कारोबार