चिनियाँ लगानीको पहिलो जलविद्युत् कम्पनी खुल्यो

    1343

    नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न चिनियाँ कम्पनीको ८० प्रतिशत सेयर रहने गरी ‘सीजीआईजी इन्टरनेसनल नेपाल हाइड्रो डेभलपमेन्ट कम्पनी’ स्थापना भएको छ । बुटबल पावर कम्पनी (बीपीसी)को २० प्रतिशत तथा तीन चिनियाँ कम्पनीको ८० प्रतिशत सेयर स्वामित्व रहनेगरी जलविद्युत् आयोजनामा लगानी गर्नका लागि कम्पनी स्थापना भएको हो ।
    कम्पनीमा चिनियाँ सीजीआईजीको ६२ प्रतिशत, सीएक्सआईजीको १५ प्रतिशत र क्यूवाईईसीको १२ प्रतिशत रहने बीपीसीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले जानकारी दिए । “बुधबारमात्र तीन चिनियाँ कम्पनी र बीपीसीको संयुक्त सेयर रहेको जलविद्युत् लगानी कम्पनी उद्योग मन्त्रालय अन्र्तगतको कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको छ,” उनले भने । नेपालको जलविद्युत् आयोजनामा लगानी गर्नका लागि चिनियाँ ठूला कम्पनी र नेपाली निजी कम्पनी मिलेर स्थापितको यो पहिलो कम्पनी हो । यसअघि कम्पनी खडा गरेर ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी लगायतका जलविद्युत् आयोजना चिनियाँ कम्पनीले निर्माण गरिसके पनि लगानी कम्पनीको रूपमा निजी कम्पनीसँग चिनियाँ कम्पनीले संयुक्त रूपमा खडा गरेको भने यो पहिलो हो ।
    अधिकृत पुँजी १ अर्ब ९० करोड रहेको कम्पनीले ५ बर्षभित्र २ खर्ब बराबरको जलविद्युत् आयोजनामा लगानी गर्ने लक्ष्य राखेको बीपीसी सञ्चालक समितिका अध्यक्ष पद्मज्योतीले जानकारी दिए । “पाँच वर्षभित्र एक हजार मेगावाट जलविद्युत् आयोजनामा लगानी गर्ने गरी चिनियाँ कम्पनी र वीपीसी मिलेर लगानी कम्पनी निर्माण भएको छ,” उनले भने, “पहिलो चरणमा एक सय मेगावाटको तल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ ।” तल्लो मस्र्याङ्दीका लागि सीजीआईजी इन्टरनेशनल नेपाल हाइड्रो डेभलपमेन्ट कम्पनीले स्पेशल पर्पस भेइकल (एसपीभी) आधारमा सहायक कम्पनी निर्माण गरेर अघि बढ्ने लक्ष्य राखेको छ ।
    बीपीसीका अध्यक्ष ज्योतीका अनुसार संयुक्त कम्पनीको रकम जलविद्युत् आयोजनाको स्वँपुजी (इक्विटी)का लागि खर्च गरिने तथा चिनियाँ कम्पनीमार्फत ऋण ल्याएर १ हजार मेगावाटसम्मका जलाशय र पिकिङ नदी प्रवाहमा आधारित (आरओआर) योजना निर्माण गर्ने लक्ष्य राखिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. अरविन्दकुमार मिश्र, ऊर्जासचिव अनुपकुमार उपाध्याय तथा तीन चिनियाँ कम्पनीका प्रतिनीधिहरूको उपस्थितिमा साझेदारीको घोषणा गरिएको थियो । कार्यक्रममा सदस्य मिश्रले नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ कम्पनीले आयोजनामा लगानी घोषणा सकारात्मक रहेको बताउँदै नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको बताए ।

    स्रोत : कारोबार