घिसिङको निर्देशन प्रभावहीन

    1239

    काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई आयोजनास्थलमै (साइड अफिस) बस्न बारम्बार निर्देशन दिए पनि अधिकांश प्रमुखले बेवास्ता गरेका छन्।

    जलविद्युत् आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण आयोजनास्थलमा प्रमुख नजानुलाई लिइएको छ। आयोजनास्थलमै बसेर काम गर्नुपर्ने प्रमुखहरु विभिन्न बहाना बनाई राजधानीमै बस्ने गरेका छन्।

    केही महिनायता प्राधिकरणले प्रमुखहरुलाई आयोजनास्थलमा जान पटकपटक निर्देशन दिइसकेको छ । प्राधिकरणका सहायक कम्पनीमार्फत सञ्चालित जलविद्युत उत्पादन तथा प्रसारण लाइन आयोजना प्रमुखलगायत कर्मचारीलाई आयोजनास्थलमै बस्न पटकपटक आग्रह गरेको हो । तर, आयोजना प्रमुखहरु त्यस्तो क्षेत्रमा नगई आफूलाई पायक पर्ने ठाउँमा बस्दै आएका छन्।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण मातहत निर्माणाधीन आयोजनाका प्रमुखलाई सात महिनादेखि कयौंपटक लिखित र मौखिक निर्देशन दिएका छन् । उनको निर्देशनअनुसार कुनै पनि आयोजना प्रमुख कार्यस्थलमा नगएको प्राधिकरणका एक अधिकारीले बताए । ‘कुलमान सरले पटक–पटक लिखित र मौखिक निर्देशन दिए पनि राजनीतिक पहुँच देखाएर आयोजना प्रमुखहरु कार्यस्थलमा जाँदैनन्,’ ती अधिकारीले भने ‘विभिन्न बहाना देखाएर काठमाडौं वा आफूलाई पायक पर्ने ठाउँमा मात्र बस्छन्।’

    उनले प्रत्येक आयोजना प्रमुखसँग कार्यसम्पादन करार सम्झौता भए पनि यसको ठाडो उल्लंघन भएको बताए।
    प्राधिकरणका सहायक कम्पनीमार्फत निर्माणाधीन आयोजनाहरु अपर तामाकोसी,  चिलिमे जलविद्युत् आयोजनाका सहायक कम्पनी (सान्जेन, मध्यभोटेकोसी, रसुवागढी), तनहुँ हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र पावर ट्रान्समिसन कम्पनीका आयोजना प्रमुखलाई आयोजनास्थलमै जान घिसिङले निर्देशन दिएका थिए।

    ‘नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीमार्फत सञ्चालित जलविद्युत् उत्पादन एवं प्रसारण लाइन आयोजनाका प्रमुखलगायत कर्मचारीले काठमाडौं उपत्यकामै बसेर काम गरेको भन्ने गुनासो प्राप्त भइरहेको हुँदा कार्यस्थलमा तत्काल जान निर्देशन दिइएको छ,’ घिसिङले हालै लेखेको पत्रमा उल्लेख छ।

    प्राधिकरण कर्मचारी युनियनले पनि बारम्बार आयोजना प्रमुखलगतय कर्मचारी आयोजनाको स्थानीय कार्यालयमै बस्नुपर्ने आवाज उठाउँदै आएको छ । युनियनका अध्यक्ष रामेश्वर पौडेलले कतिपय आयोजना प्रमुख स्थानीय कार्यालयमा नबिसी महिनौंसम्म काठमाडौंमै बस्ने गरेको नागरिकलाई बताए । ‘नीतिगत निर्णय गर्न काठमाडौं आउनु स्वाभाविकै हो,’ उनले भने, ‘तर, विभिन्न बहाना बनाई काठमाडौं बस्ने आयोजना प्रमुख लगायत कार्मचारीका कारण आयोजना ढिला हुन गएका छन् । यसमा हाम्रो युनियनले कडा विरोध गर्दै आएको छ ।’

    आयोजनास्थलमा कति दिन बस्नु पर्छ भन्ने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था छैन । तर, विभिन्न बहाना बनाएर आयोजना प्रमुखहरु काठमाडौं बस्दै आएका छन् । ‘कतिपय आयोजना निर्माणका लागि वन, रक्षा, कानुनलगायत मन्त्रालयको स्वीकृति लिनुपर्ने हुन्छ, त्यस्तो बेलामा काठमाडौं आउनुलाई जायजै मानिन्छ,’ पौडेलले भने, ‘तर, केही आयोजना प्रमुख आयोजनास्थलमा नबसी अनेक बहाना बनाएर काठमाडौंमा महिनौं बस्ने गरेका छन् । त्यस्ता आयोजना प्रमुख आयोजनास्थलमै जानु पर्छ ।’ आयोजनास्थलमा प्रमुखहरु नजाँदा आयोजना निर्माणमा ढिलाइ हुनुका साथै लागत पनि बढ्ने गरेको उनको भनाइ छ।

    विज्ञहरूले पनि आयोजना निर्माणमा ढिलाइ हुनुको मुख्य कारण नै आयोजना प्रमुख आयोजनास्थलमा गएर नबस्नुलाई लिन्छन् । ‘स्थाीय तहमा आउने समस्याको समाधान आयोजना प्रमुखले नै गर्ने हो,’ एक विज्ञले भने, ‘तर, आयोजना प्रमुख नै स्थानीय कार्यालयमा बस्दैन भने समस्याको समाधान कसरी हुन्छ ? यस्ता कारणले आयोजना निर्माण ढिलो र महँगो हुन गएका हुन्।’

    आयोजना समयमै नबन्दा लागत बढेको र त्यसको कारण उत्पादन नभएर प्राधिकरणले घाटा बेहोर्नुपरेको प्राधिकरणका एक उच्च अधिकारीले बताए । ‘आयोजना निर्माणमा ढिलाइ हुनुको प्रमुख कारण आयोजनाको स्थानीय कार्यालयमा प्रमुख नबस्नु हो,’ उनले भने, ‘आयोजना ढिलाइको कारण लागत त बढ्यो नै, समयमै विद्युत् उत्पादन नहुँदा यसले पनि असर गर्छ ।’ आयोजना समयमै सम्पन्न गर्न सके लोडसेडिङ न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ।

    – नागरिक