घलेम्दीको उत्पादन चैतभित्रै

    1284

    भाद्र ८, २०७४- नीलगिरि हिमालको फेदीमा निर्माणाधीन ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजनाले आगामी चैतभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाको ६ सय ९५ मिटर लामो सुरुङको निर्माण पूरा भएकाले उत्पादन थाल्न सक्ने अवस्था आएको हो ।

    निर्माण सामग्री रड, सिमेन्ट र इन्धनसमेत खच्चड र मानिसले बोकेर निर्माणस्थल पुर्‍याउनुपर्ने भएकाले यसमा ठूलै जटिलता रहेको थियो । सुरुङको ‘फोरहेड’ क्षेत्र भीरपहरामा परेकाले मेसिन प्रयोग गर्न सम्भव नभएर मानव श्रमबाट निर्माण गरिएको आयोजनाले जनाएको छ ।

    ‘कन्स्ट्रक्सनतर्फका टनेल र ट्रान्समिसन लाइन सतप्रतिशत पूरा भएको छ । डाइभर्सन, पानी थिग्राउने पोखरी, क्यानको ६० प्रतिशत काम सकिएको छ,’ आयोजना अध्यक्ष किशोर सुवेदीले भने, ‘पावरहाउसको फाउन्डेसन पूरा भएको छ । सडक पहुँच पुगेका ठाउँको काम सजिलै र छिट्टै हुनेछ ।’

    उनले लक्ष्यभन्दा तीन महिना छिटो चैतभित्र सम्पन्न योजना रहेको बताए । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने घलेम्दी खोलामा निर्माणाधीन उक्त आयोजना ‘रन अप द रिभर’ किसिमको हो ।

    आयोजनामा संस्थापकको ३५ करोड ५० लाख रुपैयाँसँगै लुम्बिनी र टुरिजम विकास बैंकको ५५ करोड लगानी छ । आयोजना निर्माण गर्न प्रभावित क्षेत्रका १ सय स्थानीयसहित दैनिक २ सय मजदुर काममा खटिएका छन् । अन्नपूर्ण प्रथम र साउथ हिमालबाट झर्ने घलेम्दीको पानीलाई सुरुङबाट २ सय ६१ मिटर तल नीलगिरि खोलाको छेउमा अर्धभूमिगत विद्युत्गृहमा झार्ने योजना छ । आयोजनाले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटका दरले खरिद बिक्री सम्झौता विद्युत् प्राधिकरणसँग गरेको छ ।

    स्रोत : कान्तिपुर