खुद नाफा र चुक्ता पूँजीको आधारमा हाइड्रोपावर कम्पनीको अवस्था

    1558

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आबद्ध ११ जलविद्युत्  कम्पनीमध्ये खानीखोला र नेशनल हाइड्रोबाहेक अन्य ९ ओटा कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक विवरण हेर्दा चिलिमे हाइड्रोको चुक्ता पूँजी ३ अर्ब ४४ करोडभन्दा माथि छ । यो त्रैमासमा कम्पनीले रू. ५५ करोड ९२ लाख ३४ हजार नाफा कमाएको छ । कम्पनीले विद्युत् विक्रीबाट रू. ६५ करोड ४२ लाख ४१ हजार आम्दानी गरेको छ । गत आवको तुलनामा यो आवको दोस्रो त्रैमाससम्मको अवधिमा पानीको बहाव बढी भएकाले विद्युत् विक्री बढेको कम्पनीले सार्वजनिक गरेको विवरणमा खुलाएको छ ।

    यसैगरी अपी पावर, बुटवल पावर र सानिमामाईले रू. १ अर्बभन्दा बढी चुक्ता पूँजी पु¥याइसकेका छन् । अपी पावरले यो त्रैमासमा रू. ३ करोड ४५ लाख ४४ हजार नाफा कमाएको छ । विद्युत् विक्रीबाट रू. ८ करोड ७५ लाख ३२ हजार र अन्य स्रोतबाट रू. ५ लाख ६७ हजार गरी रू. ८ करोड ८१ लाख आम्दानी भएकाले नाफा कमाउन सो कम्पनी सफल देखिएको हो । सानिमामाई हाइड्रोले पनि विद्युत् विक्रीबाट रू. ५० करोड ६३ लाख ८८ हजार आम्दानी गरी रू. २५ करोड ४४ लाख नाफा कमाएको छ । त्यस्तै, बुटवल पावरले पनि यो त्रैमासमा रू. १३ करोड ९ लाख ७५ हजार नाफा कमाएको छ । यो नाफा कमाउन बुटवल पावरलाई रू. ४० करोड २४ लाख ९२ हजार विद्युत् विक्री आयले सघाउ पुर्‍याएको हो ।

    चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड ५५ लाख ५८ हजार नाफा कमाएको अरुणभ्यालीको चुक्ता पूँजी भने रू. ८४ करोड ८१ लाख ९३ हजार छ । कम्पनीले विद्युत् विक्रीबाट यो त्रैमासमा रू. २ करोड ८४ लाख ९२ हजार र अन्य स्रोतबाट रू. १ करोड १७ लाख ७५ हजार आम्दानी गरेको छ ।

    दिव्येश्वरी हाइड्रोको चुक्ता पूँजी रू. २६ करोड ४० लाख छ भने रू. २३ लाख १२ हजार नाफा ऋणात्मक अवस्थामा छ । २०७१ सालमै सम्पन्न गरिसक्नुपर्ने सभाखोला जलविद्युत् आयोजना (कम्पनीले निर्माण गरिरहेको) विविध कारण समयमै सम्पन्न हुन नसक्दा आयोजनाको लागतमा १३ करोड वृद्धि भएकाले कम्पनीको अवस्था ऋणात्मक भएको दोस्रो त्रैमासिक विवरणमा उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणको नियमअनुसार २०७३ फागुन १५ भित्र आयोजना सम्पन्न गरिसक्नुपर्नेमा यो विवरण सार्वजनिक गर्दासम्म ९८ प्रतिशत काम सम्पन्न भएको कम्पनीले उल्लेख गरेको छ ।

    त्यस्तै, ङादी पावरले यो त्रैमाससम्ममा रू. ४८ करोड ६८ लाख ६८ हजार चुक्ता पूँजी पु¥याउँदा रू. १ करोड ५९ लाख ४१ हजार नाफा कमाउन सफल देखिएको छ । यो त्रैमासमा ङादीले विद्युत् विक्री आयबाट रू. ३ करोड ५७ लाख आम्दानी गरेको छ । यसैगरी वरुण हाइड्रोले पनि यो त्रैमासमा विद्युत् विक्रीबाट रू. २ करोड २५ लाख ५४ हजार आम्दानी गरी रू. ७० लाख ६८ हजार नाफा कमाएको छ भने चुक्ता पूँजी रू. २४ करोड ३० लाख पुर्‍याएको छ । रिडी हाइड्रोपावर पनि नाफा कमाउने हाइड्रोकै सूचीमा परेको छ । यो त्रैमासमा रू. ७२ लाख १६ हजार नाफा कमाएको यो कम्पनीको चुक्ता पूँजी रू. ४४ करोड ५५ लाख छ । विद्युत् विक्रीबाट कम्पनीले रू. १ करोड ४२ लाख ३८ हजार आम्दानी गरेको छ । समग्रमा दिव्येश्वरी हाइड्रोबाहेकका अन्य हाइड्रो कम्पनीको नाफाको अवस्था सुधारोन्मुख छ । चुक्ता पूँजीको तुलनामा खासै कमजोर नदेखिएको दिव्येश्वरीले आगमी दिनमा हुन सक्ने वित्तीय जोखीम कम गर्नु चुनौतीको रूपमा देखिएको छ । यस सन्दर्भमा कम्पनीले उक्त जोखीम न्यून गर्न अन्य कुनै आर्थिक रूपले उपयुक्त जलविद्युत् आयोजनाको पहिचान गरी प्रवद्र्धन गर्ने नीति लिएको छ । यो नीति आगामी दिनमा कम्पनी ऋणात्मक अवस्थाबाट माथि उठ्न सफल हुने माध्यम बनोस् ।

    – अभियान