काबेली करिडोर प्रसारण लाइनमा क्षति पुग्दा विद्युत उत्पादन बन्द

    1146

    काठमाडौं÷अविलर वषाँसँगै बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि इलाममा सञ्चालनमा रहेको जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।
    नेपाल विद्युत प्राधिकरणको काबेली करिडोर प्रसारण लाइनमा क्षति पुगेपछि २२ मेगावाटको माई,१२ मेगावाटको अप्पर माई,७.६ मेगावाटको जोगमाई खोला, ६.१ मेगावटको अप्पर माई सी, ४.५ मेगावाटको माई खोला लगायतका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको हो ।
    शुक्रबार राती ९.३३बाट विद्युत उत्पादन बन्द भएको हो । सानीमा हाइड्रोका प्रमुख कार्यकारी अधिकृत डा.सुवर्णदास श्रेष्ठले प्रसारण लाइनमा क्षति पुगेपछि २२ मेगावाटको माई र ७ मेगावाटको माई क्यास्केट आयोजनाको उत्पादन बन्द भएको जानकारी दिए ।
    ‘शुक्रबार रातीबाट विद्युत उत्पादन बन्द भएको थियो, शनिबार केही बेर सञ्चालन भएको थियो, तर चुलाचुलीमा प्रसारण लाइनमा क्षति पुगेपछि उत्पादन बन्द छ’,उनले भने,‘३३ केभी प्रसारण लाइनमा पनि क्षति पुगेको बताइएको छ, टेलिफोन पनि अवरुद्ध भएकाले विस्तृत जानकारी लिन सकिरहेका छैनौं ।’
    काबेली करिडोरको दमक–गोदक खण्डको चुलाचुलीमा १७–२० नम्बर टावरबीचको टावर ढलेको अनुमान गरिएको छ । यद्धपी दमकबाट त्यसतर्फ जान नसकिएकाले क्षति यकिन गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।
    बाढीले दुहवीमा रहेको सव स्टेसनमा क्षति पुर्याएपछि लाइन पूर्वको विद्युत आपूर्ति बन्द भएको छ । सव स्टेसनको कन्ट्रोल रुम समेत डुवानमा परेको छ । यसले गर्दा त्यहाँका उपकरणमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । तराई क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि प्राधिकरणका विद्युत गृहसमेत पूर्ण क्षमतामा चलेका छैनन ।