बिजुली नभई नचल्ने सोलार प्लान्ट !

    2521

    रामचन्द्र भट्ट,नागरिक, काठमाडौं, असार १८- पानीबाट निकालिने बिजुलीको विकल्पमा सौर्य (सोलार) ऊर्जा प्रयोग गर्ने चलन विश्वभरि बढेका बेला सरकारले ललितपुरको सुन्दरीघाटमा जोडेको सोलार प्लान्ट भने बिजुलबिना नचल्नेखालको छ। देशकै सबैभन्दा ठूलो सोलार प्लान्ट लोडसेडिङ हुने बित्तिकै बन्द हुन्छ।

    राजधानीको सुन्दरीघाटमा निर्माण भएको ६ सय ८० किलोवाटको सोलार प्लान्ट विद्युत प्राधिकरणको प्रसारण लाइनबाट बिजुली पाएसम्म मात्रै चल्छ। जब लोडसेडिङ सुरु हुन्छ त्यससँगै सोलार प्लान्टको ऊर्जा उत्पादनसमेत बन्द हुन्छ।
    झन्डै ५४ करोड रुपैयाँ लगानी गरेर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यो प्लान्ट बनाइदिएको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई पानी तान्न विद्युत उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको यो प्लान्ट ब्याकअप पावर नहुँदा प्राधिकरणको पावरमै निर्भर हुन पुगेको छ।
    नेपालमा बढी लोडसेडिङ हुन्छ भन्ने हिसाबले यो प्लान्ट निर्माण नभएको दाबी जाइकाका एक अधिकारीले गरे। सोलार प्लान्टले काम गर्न ब्याकअपको रुपमा ब्याट्री चाहिन्छ। तर, सुन्दरीघाटको प्लान्टमा ब्याट्री छैन, त्यसैले प्लान्ट सुरु गर्नै विद्युत प्राधिकरणको लाइन चाहिन्छ। विद्युत प्राधिकरणको प्रसारण लाइनबाट बिजुली आएन भने घाम लागेका बेला पनि यो सोलार प्लान्ट सुरु हुनै पाउँदैन र बिजुली उत्पादन गर्दैन।
    ‘लोडसेडिङको समयमा पम्पिङ गरेर पानी तान्ने र बढी भएको बिजुली प्राधिकरणलाई बेच्ने गरी परीक्षणको रुपमा जाइकाले यसलाई बनाइदिएको हो,’ केयुकेएलका प्रवक्ता सुरेश आचार्यले भने।
    जाइकाले केयुकेएलको सुन्दरीघाटस्थित खाली जग्गामा तीन हजार दुई सय ४० वटा फोटोभोल्टिक सौर्यपाता जडान गरेर सौर्य ऊर्जा उत्पादन गर्न सुरु गरेको हो। ‘सौर्य बिजुली उत्पादन त भयो, तर लोडसेडिङको समयमा नचल्ने भएपछि यसले कुनै औचित्य देखिएन,’ सुन्दरीघाट पानी प्रशोधन केन्द्रका एक कर्मचारीले भने।
    सर्वसाधारणले घरमा जडान गर्ने सोलार प्लान्टमा ब्याट्री राखिएको हुन्छ। त्यही ब्याट्रीले गर्दा दिनभर घाम लागेको समयमा चार्ज हुन्छ। ब्याट्रीमा सञ्चित भएको ऊर्जाबाट राति विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ।
    सुन्दरीघाटको सोलार प्लान्ट अहिलेसम्म नेपालमा निर्माण भएकोमध्ये सबैभन्दा ठूलो हो। ६ सय ८० किलोवाटका लागि ब्याट्री ब्याकअप निकै खर्चिलो हुने भएकाले दिउँसो घाम लागेको समयमा मात्र काम गर्ने गरी बनाइएको दाबी आयोजना स्रोतले गरेको छ।
    लोडसेडिङको समयमा नचले पनि जाइकाले यो प्लान्ट परीक्षणको रुपमा बनाएको हो। राम्रोसँग घाम लागेको समयमा यसले ६ सय ८० किलोवाट नै बिजुली उत्पादन गर्छ। अहिले पानी पर्ने समय भएको र दिनभरि राम्रोसँग घाम नलाग्ने भएकाले दिउँसोको समयमा पाँचसय किलोवाट बिजुली उत्पादन गरिरहेको छ।
    सुन्दरीघाटस्थित खानेपानीलाई पम्पिङ गर्न ९० देखि एकसय किलोवाट भए पुग्छ। बाँकी विद्युत प्राधिकरणलाई बिक्री गर्न सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का एक कर्मचारीले बताए।
    विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता हुन भने बाँकी छ। प्राधिकरणले आफूले खानेपानीलाई बिक्री गर्ने सरह बिजुलीको मूल्य दिने प्रस्ताव गरेको छ। प्राधिकरणले केयुकेएललाई प्रति युनिट तीन रुपैयाँमा बिजुली दिइरहेको छ।
    केयुकेएलले भने प्रति युनिट आठ रुपैयाँ मागेको प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक शेरसिंह भाटले भने। ‘हाम्रो प्रस्ताव आपसमा लिने र दिने बिजुलीको मूल्य एकै गर्नुपर्छ भन्ने हो,’ भाटले भने।
    केयुकेएलको सोलार बिजुलीले प्राधिकरणको प्रणालीमा खासै योगदान नदिने भएकाले पिपिए गर्न त्यति चासो दिएको छैन। दिउँसोको समयमा त्यो पनि घाम लाग्दामात्र बिजुली उत्पादन हुने भएकाले त्यो बिजुलीले प्राधिकरणको सिस्टममा तात्विक अन्तर नपार्ने तर्क प्राधिकरणको छ।
    निर्धारित समयभन्दा चार महिना ढिलो गरी सोलारप्लान्टबाट बिजुली उत्पादन भएको हो। फेब्रुअरीभित्रै बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको यो प्रोजेक्टको निर्माण सम्पन्न भएर पनि हस्तान्तरण भने हुन बाँकी छ। ‘हाम्रा कर्मचारीलाई तालिम दिन बाँकी भएकाले हस्तान्तरण हुन बाँकी भएको हो,’ केयुकेएलका आचार्यले भने।
    यसअघि सबैभन्दा ठूलो सोलार पावर प्लान्ट हुम्लाको सिमकोटमा ५० किलोवाटको थियो। त्यस्तै मुगुको गमगडीमा समेत ५० किलोवाटको सोलारप्लान्ट स्थापना भए पनि अहिले विद्युत प्राधिकरणको प्रसारण लाइन (ग्रिड) पुगिसकेको हुँदा बन्द भएका छन्।
    यी दुवै सोलार प्लान्ट विद्युत प्राधिकरणले सञ्चालन गरेको थियो। सोलार प्लान्टको सञ्चालन खर्च बढी हुने भएकाले प्राधिकरणले बन्द गरिसकेको छ।
    सुन्दरीघाटको सोलार प्लान्ट निर्माण गर्न दुई वर्षअघि जाइका र अर्थ मन्त्रालयबीच सम्झौता भएको थियो। परियोजना सुरु भएको ११ महिनाभित्र पूरा गर्ने कार्यक्रम रहेकोमा अहिले पूरा भए पनि हस्तान्तरण हुन भने बाँकी छ।
    जाइकाले स्वच्छ ऊर्जा प्रवर्द्धनको क्रममा ५३ करोड ७९ लाख रुपैयाँ सहयोग गरेको हो। निर्माणमा संलग्न प्राविधिकहरुका अनुसार २७ वटा लाइनमा सोलार प्यानल जडान गरिएका छन्। हरेक लाइनमा एक सय २० प्यानल छन्। एउटा सोलार प्यानलले २ सय १० वाट बिजुली उत्पादन गर्छ। यस्ता तीन हजार दुई सय ४० प्यानलले उत्पादन गरेको बिजुली एकैठाउँमा जम्मा गर्दा ६ सय ८० किलोवाट जम्मा हुन्छ।
    तीन मिटर अग्लो पिलरमा राखिएका सोलार प्यानलले उत्पादन गरेको बिजुलीलाई एकीकृत गरेर ट्रान्सफर्मरमार्फत पारिपट्टि रहेको सुन्दरीघाट पानी प्रशोधन केन्द्रमा पुर्या इएको छ। सोलारलाई जमिनभन्दा माथि राख्न ९ सय १८ वटा पिलरहरु खडा गरिएका छन्।
    ब्याट्री ब्याकअप नभएकाले घाम लागेको समयमा मात्र बिजुली उत्पादन हुन्छ। सुन्दरीघाट सोलारपावर प्लान्टले एक दिनमा उत्पादन गर्ने जम्मा बिजुली र त्यसले कार्बन डाइअक्साइड कम गर्न गरेको योगदानसमेत रहेको विद्युतीय डिस्प्ले जडान गरेको छ। ६ सय ८० किलोवाट सोलार ऊर्जाले दैनिक दुई हजार किलो कार्बन डाइअक्साइड उत्सर्जनमा सहयोग गर्छ।