काठमाडाैंमा १० दिनभित्र बायोग्यास उत्पादन सुरु हुने

    1356

    १४ किलोवाट बायोग्यास उत्पादन गर्ने

    अबको १० दिनभित्र यहाँ बायोग्यास उत्पादन सुरु हुने भएको छ। काठमाडौँ महानगरपालिकाअन्तर्गत वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठका अनुसार बायोग्यास उत्पादनका लागि अहिले यन्त्र राख्ने काम सकिसकिएको छ। एक–दुई दिनभित्र बायोग्यास उत्पादनका लागि परीक्षणको काम हुनेछ।

    प्रमुख श्रेष्ठका अनुसार अबको १० दिनपछि कामपाका वडा नं २०, २१, १९ र १२, छुट्याइएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीन टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकालिनेछ। काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर व्यवस्थापन गर्नका लागि महानगरपालिकाले सो योजना ल्याएको हो। टेकुस्थित ट्रान्सफर स्टेसनमा राख्न लागिएको यो पहिलो नमुना परियोजना कारखानाका लागि युरोपेली सङ्घको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ। योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने कामपाले जनाएको छ।

    कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ। दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ। फोहरको उचित व्यवस्थापनसँगै सहरलाई फोहरबाट मुक्त गर्न र दिगो रुपमा फोहरमैला व्यवस्थापनका लागि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ।

    रासस