औद्योगिक प्रवर्द्धन बोर्डद्धारा मादी हाइड्रोपावरमा विदेशी लगानी खुला

    3196

    १९ असार, काठमाडौं ।

    Prabardan-Board-Meetingऔद्योगिक प्रवर्द्धन बोर्डले कास्की जिल्लाको नामर्जुन र पार्छे गाउँ विकास समितिमा अवस्थित ४४ मेगावाटको सुपर मादी हाईड्रोपावर आयोजना विदेशी लगानीमा निर्माण गर्न स्वीकृति दिएको छ । बोर्डको २०५औं बैठकले उक्त स्वीकृति दिएको हो । उक्त हाईड्रोपावरको कूल पूँजी ६ अरब ९५ करोड रुपैयाँ रहेको छ ।

    बोर्ड बैठकले मदिराजन्य उद्योगको मापदण्ड तयार गर्न बनेको कार्यदलले समयमै प्रतिवेदन बुझाउन नसकेकाले दुई सदस्य थप्ने अधिकार सहित कार्यदलको म्याद बढाएको छ । उद्योग मन्त्रालयका सहसचिव यामकुमारी खतिवडाको संयोजकत्वमा रहेको कार्यदलमा दुई सदस्य थपिनेछ । जसमा, एक विज्ञ र अर्का आन्तरिक राजस्व विभागका प्रतिनिधि रहने छन् ।

    बोर्डले चितवनमा सञ्चालित बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले उद्योग उत्पादन क्षमता अभिवृद्धिका लागि पूँजी वृद्धि गर्न गरेको मागलाई अनुमोदन गरेको छ । कूल पूँजी १२ करोड १० लाख रहेको यस कम्पनीले थप पूँजी बढाएर ३ अरब १२ करोड पुर्‍याएको छ ।

    बोर्डले चौथो एजेण्डा बनाएको निकासी गर्ने उद्योगले उत्पादनमा प्रयोग गरिएका प्याकिङ र त्यसका कच्चा पदार्थमा तिरेको अन्तशुल्क फिर्ता पाउने भनी अदालतबाट परमादेश भएको सम्बन्धमा मौजुदा ऐन नियममा परिवर्तन गर्न अर्थ मन्त्रालयमा लेखेर पठाउने निर्णय गरेको छ ।

    उद्योग विभागका महानिर्देशक ध्रुव राजवंशी एजेण्डा प्रस्तुत गर्नुभएको बैठकमा अर्थ, वाणिज्य तथा आपूर्ति, उद्योग, श्रम मन्त्रालयका सचिव र राष्ट्र बैंकका गभर्नरको उपस्थिति थियो । बैठकमा निजीक्षेत्रबाट उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार, नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यात, नेपाल घरेलु उद्योग महासंघ र उद्योगीहरुको सहभागिता थियो ।

    Source : Onlinekhabar