एउटै खोलामा पाँच आयोजना

    1499

    सोलुखुम्बु — सोलु खोलामा जलविद्युत् आयोजना निर्माणमा प्रतिस्पर्धा चलेको छ । एउटै खोलामा ५ वटा आयोजना निर्माणका क्रममा छन् । ती आयोजनाबाट २१४.५ मेगावट विद्युत् उत्पादन हुनेछ ।

    आयोजनामा करिब ५० अर्ब रुपैयाँ लगानी हुँदै छ । उत्पादित विद्युत् सोलु कोरिडोरमा निर्माणाधीन प्रसारण लाइनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ । ५ देखि ८६ मेगावाटका आयोजना निर्माणका क्रममा छन् । सोलु दूधकुण्ड नगरपालिकाका अनुसार ५ मेगावाटको दोभान जलविद्युत्, १८ मेगावाटको बेनी जलविद्युत्, २३.५ मेगावाटको अपर सोलु, ८२ मेगावाटको लोवर सोलु र ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

    ‘निर्माण सुरु भएको एक वर्ष भयो,’ लोवर सोलु जलविद्युत् आयोजनाका प्रबन्धक एवं प्रशासक कविराज पौडेलले भने, ‘अहिलेसम्म ६५ प्रतिशत निर्माणको काम भएको छ, २०१९ डिसेम्बरमा निर्माण सम्पन्न हुनेछ ।’ उनका अनुसार उक्त नगरपालिकाको वडा नम्बर ११ स्थित तिङलामा नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन निर्माण गरिरहेको छ ।

    तिङलादेखि सिराहाको मिर्चैयासम्म ९० किमि ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ । निर्माणपश्चात् त्यही लाइनको १ सय ३२ केभीए प्रसारण लाइनमा उत्पादित विद्युत् जोडिनेछ ।

    ‘सबै खोलाबाट विद्युत् उत्पादन हुँदैन तर यो खोलामा पानीको प्रवाह गति बढी छ,’ उनले भने, ‘त्यसैले पानीको फ्लोबाट विद्युत् उत्पादन गर्न सहज छ ।’ उनका अनुसार सबै आयोजना निजी क्षेत्रको प्रयासबाट निर्माण भइरहेका छन् । खोलामा जताततै विद्युत् निर्माणको काम सुरु भएपछि स्थानीय दंग छन् । जिल्लामा अझै केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार हुन सकेको छैन । अधिकांशले स्थानीय लघु जलविद्युत् उपभोग गर्दै आएका छन् । अहिले उत्पादन भइरहेको विद्युत् जिल्लामा खपत हुने छैन । यो केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।

    ‘अहिले सोलु खोला ऊर्जा खोलो भएको छ,’ सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले भने, ‘यसले जिल्लामा फाइदा छ, स्थानीय तहले २५ प्रतिशत रोयल्टी पाउनेछ ।’ उनका अनुसार जिल्लामा ठूला आयोजना निर्माण हुनु गौरवको कुरा हो । ग्रामीण विद्युतीकरणका लागि ३३ केभीए प्रसारण लाइन ल्याउनका लागि काम सुरु भएको छ ।

    ‘ओखलढुंगाबाट यो लाइन विस्तार गरिनेछ,’ उनले भने, ‘अहिले पोल र तार टाँग्ने काम सुरु छ ।’ उनका अनुसार मंसिरसम्म नगरपालिका–११ स्थित तिङलामा लाइन विस्तार भइसक्नेछ । धेरै आयोजना निर्माणाधीन अवस्था भए पनि रोजगारीमा स्थानीयको पहुँच पुग्न सकेको छैन । ‘हामीले स्थानीयलाई रोजगारी दिनुपर्छ भनेर धेरै कुरा गर्‍यौं,’ उनले भने, ‘कामदार महँगा भए, भनेजस्तो म्यानपावर नभएकाले बाहिरबाट ल्याउनुपरेको भन्ने जवाफ आउने गरेको छ ।’

    पहिले प्रमोटर सेयर अति प्रभावित, प्रभावित तथा नगरबासीलाई नदिएको भन्दै स्थानीयबासीले निर्माणाधीन आयोजनामा तालाबन्दी समेत गरेका थिए । ‘प्रमोटर सेयर पनि स्थानीयबासीलाई दिने भनेपछि ताला खुलेको हो,’ मेयर शेर्पाले भने, ‘अहिले सेयरबारे छलफल भइरहेको छ, दिने निर्णय भएको छैन ।’ तर, विवाद भएर निर्माणको काम नरोकिएको उनले बताए । उता निर्माण कम्पनीहरूले स्थानीयको मागलाई सकारात्मक रूपमा लिएको जनाएका छन् ।

    आयोजना निर्माण सुरु भएपछि सोलुबासी विकासको लहर आएको भन्दै दंग छन् । ‘एउटै खोलामा यति धेरै हाइड्रो बन्नु खुसीको कुरा हो,’ फाप्लुका पर्यटन व्यवसायी आङ निङमा लामाले भने, ‘यसले जिल्लामा विकासको लहर ल्याएको छ ।’

     

    -कान्तिपुर