तल्लो अरुणमा २२८ अर्ब लगानी जुटाउने जिम्मा जलविद्युत लगानी कम्पनीलाई, अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ल्याउने तयारी

    1146

    काठमाडौं । प्रस्तावित ७६५ मेगावाटको तल्लो अरुण जलासययुक्त आयोजना बनाउन लगानी जुटाउने जिम्मा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले पाएको छ ।

    जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयले आयोजना बनाउन २ खर्ब २८ अर्ब रुपैयाँ लगानी जुटाउन जलविद्युत लगानीलाई अनुमति दिएको हो ।

    आयोजनामा स्वपुँजी (इक्विटी) का लागि मात्रै ६८ अर्ब रुपैयाँ लाग्ने छ । सरकारले तल्लो अरुणको लगानी जुटाउने जिम्मेबारी दिएपछि कम्पनीले छलफल थालेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । तत्कालका लागि तल्लो अरुणमा लगानी जुटाउने तयारी भएको उनले सुनाए ।

    “तल्लो अरुणका लागि लगानी जुटाउने जिम्मा पाएको छौं” उनले भने “लगानी जुटाउन तयारी थालिसकेका छौं ।” तल्लो अरुण आयोजनाका लागि विदेशी बैंक तथा वित्तीय संस्थाबाट लगानी ल्याउनका लागि जलस्रोत तथा ऊर्जाले अर्थ मन्त्रालयमा शिफारिश पठाएको छ । अर्थले पनि वित्तीय स्रोत खोजीका लागि पहल सुरु गरेको उनले जानकारी दिए ।

    यस्तै राष्ट्रिय विद्युत उत्पादन कम्पनी लिमिटेडबाट अघि बढेका सबै ठुला आयोजनामा लगानी जुटाउने जिम्मा कम्पनीले पाएको उनले बताए । यस्तै राष्ट्रिय प्रसारण कम्पनीमार्फत बन्ने प्रसारणलाइनका लागि लगानी जुटाउने जिम्मा एचआईडीसीएलले पाएको छ । “जलविद्युत आयोजना र प्रसारणलाइन बनाउने काम उहाँहरुले गर्नु हुनेछ” पोखरेलले “वित्तीय व्यवस्थापनको काम हामीले गर्नेछौं । यस विषयमा ३ कम्पनीबीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ ।”

    तल्लो अरुणको क्षमता बढाउने काम भइरहेको छ । सुरुमा ४०० मेगाावाट थियो । अहिले क्षमता बढाएर ७६५ मेगावाटमा निर्माण गर्ने तायारी भइरहेको उनले सुनाए । ६ महिनाभित्र प्रतिवेदन अन्तिम प्रतिवेदन आउने छ ।

    • विकासन्युज