ऊर्जा विकासमा फड्को, आगामी वर्ष माथिल्लो तामाकोसी बाहेक २४५ मेगावाट बिजुली थप हुँदै

    1125

    काठमाडौं । आगामी वर्ष निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत  आयोजनाबाहेक प्रणालीमा २४५ मेगावाट बिजुली थप हुने भएको छ ।

    सरकार र निजी लगानीमा निर्माणाधीन साना र ठूला आयोजना सम्पन्न भई प्रणालीमा साढे २ सय मेगावाट बिजुली थप हुने भएको हो । २०१ मेगावाट निजी क्षेत्रबाट र ४४ मेगावाट नेपाल विद्युत प्राधिकरणका २ आयोजनाबाट  थप हुने प्रवक्ता प्रवल अधिकारीले बताए । उनकाअनुसार विद्युत प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना आगामी वर्ष सम्पन्न हुदैछन् ।

    ४५६ मेगावाट क्षमताको तामाकोसी बाहेक झण्डै साढे २ सय मेगावाट बिजुली थप हुने अधिकारीको भनाइ छ । निर्धारित समयमा माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएमा अर्काे वर्ष मात्र ७०१ मेगावाट बिजुली थप हुने उनले जानकारी दिए । धेरै आयोजनाको प्रगति राम्रो भएकाले आगामी वर्ष आगामी वर्ष नेपालले ऊर्जा विकासमा ठूलो फड्को मार्ने उनको भनाई छ ।

    ०७५ को असार मसान्तसम्म तामाकोसीको पहिलो एकाई सञ्चालना ल्याउने गरी काम भइरहेको उनले जानकारी दिए । “पुससम्म तामाकोसीको ५ वटै युनिट सञ्चालनमा आउने लक्ष्य लिएको छ” उनले भने “ढिलोमा ०७६ असारसम्म माथिल्लो तामाकोसी पूर्ण सञ्चालनमा आइसक्ने छ । तामाकोसी बाहेक २४५ मेगावाट थपिने निश्चित छ ।”

    अधिकारीका अनुसार २ हजार ४ मेगावाट क्षमताका १०१ आयोजनाले लगानी जुटाई निर्माण भइरहेका छन् । यीमध्ये धेरै आयोजनाको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । यस्तै ६४८ मेगावाट क्षमताका ३८ आयोजनाले लगानी जुटाउन बाँकी रहे पनि निर्माणको काम भइरहेको छ ।

    यो वर्ष निजी लगानीबाट साना र ठूला गरी १५ आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा १४२ बिजुली थप हुने  भएको छ । ०५८ मा १४४ मेगावाट क्षमताको कालिगण्डकी आयोजनापछि बढी बिजुली थप हुँदैछ । हालसम्म ५ आयोजना सम्पन १ सय मेगावाट बिजुली थप भएको उनले जानकारी दिए । बाँकी आयोजना आउँदो असारसम्म सम्पन्न हुने उनले बताए । १५ मध्ये २ आयोजना नेपाली र चीनियाँको संयुक्त लगानीमा बनेका हुन् । ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी आयोजना चीनको सिनो हाइड्रो कर्पोरेशन र नेपालको सगरमाथा पावर कम्पनी प्रालिको संयुक्त लगानीमा निर्माण भएको हो । यस्तै मादीमा चाइना वाटर एन्ड इलेक्टिक कर्पोरेशन (सीडब्यूई) को ८० र २० गोरखा कन्टक्सनको छ ।

    यो वर्ष मात्र जडित क्षमता १ हजार मेगावाट पुग्दै छ । माथिल्लो तामाकोसी सम्पन्न भएपछि नेपालको जडित क्षमता १ हजार ७ सय बढी हुने छ ।

    यो वर्ष १७४ मेगावाट बिजुली थप हुने अनुमान गरिएकोमा १४२ मेगावाट मात्र पूरा हुने उनले जानकारी दिए । सरकारले चालु आवमा बजेटमा २ सय मेगावाट बिजुली थप गर्ने लक्ष्य लिएकोमा यो पुरा नहुने भएको छ ।

    बिजुलीको माग १२ सय ३२ मेगावाट मात्र 
    पछिल्लो समयमा विद्युत् प्राधिकरणले आधारभूत रुपमा लोडसेडिङ हटाएपछि विद्युतको माग पनि घटेको छ । विद्युतको माग साँझ (पीक आवर) मा झण्डै १ हजार २३२ मेगावाट मात्र रहेको छ । यो वर्ष बिजुलीको माग बढेर १ हजार ४ सय मेगावट नाघने प्रक्षेपण गरिएको थियो । नियमित रुपमा बिजुली आपूर्ति भएपछि माग पनि घटेको हो ।

    प्राधिकरणका अनुसार विद्युत प्राधिकरणका आयोजनाबाट ३४४, भारतबाट ३७६ र निजी ऊर्जा उत्पादकबाट १५० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । प्रणालीमा ३७५ मेगावाट बिजुली अपुग हुँदा पनि मुलुक आधारभूत रूपमा लोडसेडिङमुक्त भएको छ ।

    स्रोत: बाह्रखरी