एउटै खोलाबाट ३२ ठाउँमा बिजुली

    1260

    माघ २७, २०७३- यहाँको एउटै खोलाको ३२ स्थानबाट जलविद्युत् निकालिएको छ । ताराखोलाबाट लघु जलविद्युत् र साना पेल्ट्रिक सेटबाट विद्युत् निकालिएको छ ।

    ताराखोलामा १४ साना जलविद्युत् परियोजना सञ्चालनमा छन् भने १८ पेल्ट्रिक सेटबाट विद्युत् निकालेर उपयोग भइरहेको ताराखोला ९ का सामुदायिक लघु जलविद्युत् परियोजना अध्यक्ष तीर्थसिंह थापाले बताए । ३ सय ९४ किलोवाट क्षमताको उक्त जलविद्युत् परियोजनाको ७० प्रतिशतभन्दा बढी काम सकिएको र ताराखोलाबाट अन्य लघुजलविद्युत्समेत निर्माणको चरणमा रहेको जानकारी उनले दिए । ‘ताराखोलाबाट धेरै ठाउँमा जलविद्युत् निकाल्ने कार्य भइरहेको छ,’ उनले भने, ‘उक्त क्षेत्रमा विद्युत् लाइन नपुगेपछि लघु जलविद्युतको भर पर्नुपरेको हो ।’

    ताराखोलाबाट अर्को १ हजार ७ सय किलोवाट क्षमताको सामुदायिक परियोजनाको निर्माण कार्य सुरु हुने चरणमा र २ हजार ५ सय किलोवाट क्षमताको परियोजना सम्भाव्यता अध्ययनको चरणमा रहेको ताराखोला गाविसको कार्यालयले जनाएको छ ।

    ताराखोलामा उक्त ३ वटासहित २ हजार ५ सय किलोवाट क्षमताको सयपत्री हाइड्रोपावरसहित थप ५ वटा लघुजलविद्युत् निर्माणाधीन चरणमा, रिघामा ९ मेगावाट क्षमताको एउटा लघु जलविद्युत् रहेको गाविससचिव तेजराज गौतमले बताए । ताराखोला, रिघा, अर्गल, हटिया र मल्म भएर बग्ने ताराखोलाबाट मात्रै १४ वटा सामुदायिक लघु जलविद्युत् र १८ वटाभन्दा बढी पेल्ट्रिकसेट निर्माण गरिएको उनले बताए । ‘४/५ वटा गाविस भएर ताराखोला बग्ने गर्छ,’ गाविस सचिव गौतमले भने, ‘त्यसैले गर्दा पनि एउटै खोलाबाट १४ भन्दा धेरै ठाउँबाट लघु जलविद्युत् र पेल्ट्रिक सेटबाट विद्युत् निकालिएको हो ।’ सामुदायिक लघु जलविद्युत् निर्माणका लागि २ हजार घरधुरीको संलग्नता छ ।

    स्रोत:कान्तिपुर दैनिक