हिमा जलविद्युत् आयोजना ३ वर्षदेखि अलपत्र

    1275

    कालिकोटः जुम्लाको कनकासुन्दरी गाउँपालिकामा रहेको हिमा जलविद्युत् आयोजना तीन वर्षदेखि अलपत्र परेको छ । करोडौं लगानीमा बनेको योजना उपभोक्ताका कारणले अलपत्र परेको हो ।

    आर्थिक वर्ष २०७१/०७२ बाट सञ्चालनमा आएको ३५ किलोवाटको हिमा जलविद्युत् आयोजना जुम्लाको कनकासुन्दरी गाउँपालिकामा रहेका लुड्कु, लार्र्ज गोठीगौर, पछाईबाडा, भट्टेबाडा, रोकाबाडा, सिम्पाटीबाडालगायत एक दर्जन बस्तीमा रहेका ६ सय घर धुरीलाई लक्षित गरी सञ्चालन गरिएको विद्युत् आयोजना अहिले अलपत्र अवस्थामा छ ।

    जलविद्युत् आयोजनाका लागि ३ वर्ष यता १ करोड ७० लाखभन्दा बढी बजेट गरिबी निवारण कोष, कर्णाली रोजगार कार्यक्रमबाट बजेट विनियोजन भए पनि नहर निर्माण अधुरो र उपकरण फालिएको स्थानीय वीरजित रोकायाले बताए । “निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट सरिया छड म्याद सकिएका छन ।” उनले भने, “अन्य सामान पनि अलपत्र अवस्थामा छन् ।”

    आयोजनामा  ४० र ४५ दिनसम्म काम गरेका कामदारले ज्यालासमेत पाएका छैनन् । प्रतिदिनको ४५५ रुपैयाँको दरले ज्याला दिने भने पनि प्रतिदिनको १५५ रुपैयाँभन्दा नपाएको कामदार जनकबहादुर शाहीले बताए ।

    “दिनुपर्ने ज्याला पनि हामीलाई दिइएन ।” उनले भने, “पैसा कसले खाए थाहा नै भएन ।” हिमा जलविद्युत् आयोजनालाई जुम्ला दलित सेवा संघले सन्चालन गरेपछि गरिबी निवारण कार्यक्रमबाट ४९ लाख ७० हजार, कर्णाली रोजगार कार्यक्रमबाट ४३ लाख, आरसीसी कुलो बनाउन सिँचाइ डिभिजन कार्यालय जुम्लाबाट २ लाख, कर्णाली रोजगार कार्यक्रमबाट १६ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १७ लाख विद्युत् निर्माणमा लगानी गरिएको थियो ।

    विद्युत् आयोजनाका लागि स्थानीयबाट ३ सय घरधुरीबाट २/२ हजारका दरले ६ लाख रकम जम्मा गरिएको आव ०७३÷०७४ मा कर्णाली रोजगार कार्यक्रमबाट ४३ लाख विनियोजन भएकोमा हालसम्म कुनै काम नभएको हिमा जलविद्युत् आयोजनाका अध्यक्ष भीमनिधि हमालले बताए । “धेरै ठाउँबाट लगानी भएको छ ।” उनले भने, “केही कामदारलाई समेत पैसा दिन सकेको छैनौं ।”

    स्रोत:कारोबार