दैनिक ३२ करोडको पेट्रोलियम पदार्थ आयात

    3206

    ९ कात्तिक, काठमाडौं ।

    Petrol-Pumpनेपालमा सवारीसाधनको चाप बढ्दै जाँदा पेट्रोलियम पदार्थको खपत पनि हरेक वर्ष बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा दैनिक ३१ करोड ६५ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिसम्म दैनिक २६ करोड ७ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
    राष्ट्र बैंकका अनुसार चालु आवको भदौसम्म १८ अर्ब ८१ करोड ४२ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । जसमध्ये भारतबाट १८ अर्ब ६७ करोड १५ लाख रुपैयाँको आयात भएको छ भने अन्य मुलुकबाट १४ करोड २७ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
    भारतबाट हुँदै आएको पेट्रोलियम आयात अघिल्लो वर्षको सोही अवधिको भन्दा २२ दशमलव २ प्रतिशतले बढी हो । अघिल्लो आवको भदौसम्म १५ अर्ब २८ करोड ३६ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । अन्य मुलुकबाट हुँदै आएको पेट्रोलियम पदार्थको आयात भने ६० दमलव २ प्रतिशतले घटेको छ । जबकी अघिल्लो वर्षको सोही महिनामा अन्य मुलुकबाट हुने पेट्रोलियमको आयात १३९ दशमलव ५ प्रतिशतले बढेको थियो ।
    तथ्याङ्कअनुसार अन्य मुलुकबाट चालु आर्थिक वर्षको प्रथम दुई महिनामा १४ करोड २७ लाख रुपैयाँको पेट्रोलियम आयात भएको छ भने अघिल्लो आवको सोही अवधिमा यस्तो आयात ३५ लाख ८८ करोड थियो ।
    कुल निर्यातभन्दा पेट्रोलियम आयात बढी
    चालु आवको भदौ महिनासम्मको आयात निर्यात तथ्याङ्कअनुसार नेपालबाट भएको कुल वस्तु निर्यात भन्दा पेट्रोलियम पदार्थको आयात मात्र करिव ४ अर्बले बढी रहेको छ । यस अवधिमा नेपालबाट १५ अर्ब १६ करोड रुपैयाँको कुल बस्तु निर्यात भएको छ भने भारत र अन्य मुलुकबाट गरी १८ अर्ब ८१ करोड ४२ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

    @OnlineKhabar