हाइड्रो मेकानिकल काम सुस्त

    1205

    काठमाडौँ, फागुन १० गते । स्वदेशी लगानीबाट निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा आइपुग्दा आयोजनाको हाइड्रो मेकानिकल कार्यमा ढिलाइ भएको छ । यससँगै निर्धारित समयमा सम्पन्न हुन सक्दैन कि भन्ने आशङ्का बढेको छ ।

    आयोजनाको काम करिब ९३ प्रतिशत सम्पन्न भइसकेको दाबी गरिएको छ । यद्यपि समय र गुणस्तरका हिसाबले मसिनो र मिहिनेत लाग्ने हाइड्रो मेकानिकल काम गर्ने ठेकेदार कम्पनीले निर्धारित समयमा काम सम्पन्न गर्न सक्दैन कि भन्ने आशङ्का बढेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो ।

    भारतीय निर्माण कम्पनी टेक्स्म्या रेल एन्ड इन्जिनियरिङ लिमिटेडले भूकम्प जानुअघि गरिएको सम्झौतामा २०७२ सालको वैशाखमा कार्य सम्पन्न गर्ने भनिएको थियो । पछिल्लो समयमा आगामी २०७५ साल असार २३ गतेसम्मलाई सम्पन्न गर्ने समय तोकिएको छ । सो कम्पनीसँग २९ करोड २० लाख ६८ हजार रुपियाँमा ठेक्का सम्झौता भएको हो ।
    प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो, “यो निर्माण कम्पनीले पहिलेदेखि नै ढिलासुस्ती गर्दै आएको छ । यसका कामलाई नियमित अनुगमन गर्दा पनि काम छिटोछरितो हुनसकेको छैन । कामको गति हेर्दा अरू कम्पोनेन्टभन्दा यो कम्पोनेन्टमा निर्धारित समयमा काम हुन सक्दैन कि भन्ने आशङ्का बढेर गएको छ  । ”

    सो कम्पनीसँग बाँध, इन्टेक, डिस्यान्डर आदिका गेट, स्टपलग, पेनस्टक स्टिल पाइप आदिको डिजाइन, जडान र कमिसनिङको काम गर्ने सम्झौता भएको हो । ठेकेदार कम्पनीले आयोजनाका अनुसार अन्यन्तै भारी हुने स्टिल पाइप अझैसम्म ढुवानी गर्न सकेको छैन । साँघुरो बाटो तथा आयात गरिने स्थानबाट निकै टाढा भएको आयोजना स्थलसम्म ढुवानी गर्न धेरै समय लाग्ने र जडान गर्न मिहिनेत र समय लाग्ने कारणले आगामी चैत महिनासम्म काम सम्पन्न गर्न सक्दैन कि भन्ने जोखिम रहेको आयोजनाले जनाएको छ ।

    प्रमुख श्रेष्ठले भन्नुभयो, “ठेकेदार कम्पनीको व्यवस्थापकीय पाटो निकै कमजोर देखियो । तोकिएको समयमा तोकिएको काम नहुने भएकाले त्यसको पछाडि लागि राख्नुपर्ने देखिएको छ । जिम्मेवार ढङ्गले काम गर्न ऊ तयार त्यति भएको देखिँदैनध्र” हालसम्म हाइड्रो मेकानिकलतर्फको कार्यमा इन्टेक ब्लक अन्तर्गत छवटा स्टपलगको स्टिल विम्बस र पिअर नोजको लाइनरको तल्लो भाग जडान गर्ने काम सम्पन्न भइसकेको छ । विद्युत्गृहको गेट एकदेखि छसम्मको पेनस्टक ब्रान्च पाइपको जडान गर्ने सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

    पाँच वर्ष १० महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको यो आयोजनालाई गत दुई वर्षअघिको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले झण्डै अढाई वर्ष पछाडि धकेलेको छ । अपेक्षित समयभित्र आयोजनाको टनेल बे्रकथ्रु भएको छ । अब टनेलको फिनिसिङ गर्ने काममा पनि निकै समय लाग्ने देखिन्छ । आयोजनाका ठूला काम सम्पन्न भइसकेको देखिए पनि मिहिनेत र समय लाग्ने गुणस्तरीय काम बाँकी छ । त्यसलाई पनि निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यका साथ द्रुतगतिमा काम भइरहेको छ, आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो ।

    ४५६ मेगावाटको आयोजना निर्माणका लागि सबै लागत स्वदेशी रहेको छ । सुरु लागत अनुमान ३५ अर्ब २९ करोड भए पनि लागत बढेर झण्डै ५० अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाका अनुसार गत पुस मसान्तसम्ममा ३६ अर्ब ८३ करोड रुपियाँ खर्च भइसकेको छ ।

    लक्ष्मीप्रसाद उपाध्याय