ऊर्जा उत्पादनको तयारीमा घोराही उपमहानगरपालिका अमरराज आचार्य

    1899

    दाङ-घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन क्षेत्रको अध्ययन भइरहेको जनाएको छ ।
    अहिले संरचना निर्माणमा हुने क्षेत्रको अध्ययन गरी प्रतिवेदनको समेत काम अन्तिम अवस्थामा पुगेको उपमहानगरपालिकाले जनाएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्न आवश्यक पूर्वाधार निर्माणस्थलको अध्ययन गरी प्रतिवेदन निर्माणको काम समेत अन्तिम अवस्थामा पुगेको घोराही उपमहानगरपालिकाका इन्जिनियर रामधन श्रेष्ठले जानकारी दिए । “हामी फोहरबाट ऊर्जा उत्पादन गर्न आवश्यक पर्ने संरचना निर्माण क्षेत्रको अध्ययन प्रतिवेदन निर्माणको अन्तिम तयारीमा छौं,” इन्जिनियर श्रेष्ठले भने । प्राविधिक काम सुरु भएको इन्जिनियर श्रेष्ठको भनाइ छ ।
    उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्न इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको थियो । उपमहानगरपालिकाले माग गरेको बोलपत्रमा नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिको मात्र निवेदन परेको थियो । एउटामात्र निर्वेदन परेपछि उक्त प्रालिलाई नै फोहरबाट ऊर्जा उत्पादन गर्ने दिने सम्झौता समेत गरिसकिएको छ । एउटामात्र कम्पनीले निवेदन दिएपछि त्यसैलाई नै काम गर्न दिन सम्भौता गरिएको उपमहानगरपालिकाले जनाएको छ । उक्त कम्पनीसँग उपमहानगरपालिकाले २० वर्षका लागि सम्झौता गरिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए । “हामीले कम्पनीसँग सम्भौता गरिसकेका छौं फोहरबाट ऊर्जा उत्पादन गर्नका लागि अब संरचना निर्माणकार्य अगाडि बढने छ,” नगरप्रमुख चौधरीले भने ।
    यसरी भएको सम्झौतामा कम्तीमा १० करोडको लगानीमा फोहरबाट ऊर्जा उत्पादन हुने प्रमुख चौधरीले बताए । जसका लागि राज्यले ४० प्रतिशत दिने र ६० प्रतिशत रकम आफै कम्पनीले लगानी गर्नुपर्ने छ । “हामीले जग्गा उपलब्ध गराउने छौं र ४० प्रतिशत दिने छौं अन्य सबै कम्पनीले गर्नुपर्नेछ,” प्रमुख चौधरीले भने । सम्झौताअनुसार कम्पनीले ग्यास प्लान्ट निर्माण र अन्य आवश्यक पूर्वाधारसमेत आफै निर्माण गर्नुपर्नेछ । निर्माणकार्य उपमहानगरपालिकाबाट नहुने नगरपालिकाले जनाएको छ । उक्त कम्पनी नगरपालिकासँग भएको सम्झौताअनुसार २० वर्षसम्म फोहरबाट ऊर्जा उत्पादन गर्नेछ । सम्भौता सकिएपछि कम्पनीले उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने प्रमुख चौधरीले बताए । छनोट भएको कम्पनीले गल्ने फोहरबाट सिलिन्डर ग्यास उत्पादन गरी बजार व्यवस्थापन पनि गर्नेछ । त्यसैगरी कम्पोस्ट मलसमेत उत्पादन गर्न सक्नेछ । जिल्लामा नै ग्यास उत्पादन भएपछि मूल्य कमी हुने अपेक्षा गरिएको छ ।
    यसरी फोहरबाट ऊर्जा उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो कार्य हो । फोहरबाट ऊर्जा उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा सहजता आउने छ ।

    स्रोत : कारोबार