ऊर्जामा ३ प्रतिशत मात्रै

    1445

    असार १४, २०७४- वाणिज्य बैंकहरूले गत जेठसम्म जलविद्युत्मा ५० अर्ब रुपैयाँ लगानी गरेका छन् । यो बैंकहरूको कुल लगानीको ३ प्रतिशत मात्र हो । ०७३ असारको तुलनामा भने जलविद्युत् क्षेत्रको लगानी साढे ३१ प्रतिशतले बढी हो । ०७३ असारमा जलविद्युत् क्षेत्रमा बैंकहरूको लगानी ३८ अर्ब रुपैयाँ थियो । तर, बैंंकरहरू भने यो तथ्यांकलाई सही मान्न तयार छैनन् ।

    जलविद्युत् क्षेत्रमा ठूलो ऋणको प्रतिबद्धता भए पनि भुक्तानी हुन बाँकी रहेकाले लगानीको ३ प्रतिशतमात्र देखिएको उनीहरूको भनाइ छ । ‘हाल जलविद्युत् आयोजनामा प्रतिबद्धताको करिब एक तिहाइ रकम मात्र भुक्तानी (प्रवाह) भएको छ,’ एक बैंकरले भने, ‘आयोजनाको निर्माणमा ढिलाइ भएकाले प्रतिबद्धताको ठूलो अंश भुक्तानी हुन नसकेको हो ।’

    विगतमा जलविद्युत् आयोजनामा लगानी गर्न खासै रुचि नदेखाएका बैंकहरूले एक/डेढ वर्षयता आक्रामक रूपमा लगानी विस्तार गरेको बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले बताए ।

    ‘आउँदो एक/दुई वर्षमा बैंकहरूको ठूलो लगानी जलविद्युत् आयोजनामा जानेछ,’ उनले भने, ‘त्यसपछि जलविद्युत्का क्षेत्रमा ठूलो प्रगति देखिनेछ ।’

    जलविद्युत् आयोजनाको निर्माण सुस्त हुँदा यस क्षेत्रमा बैंकहरूले प्रतिबद्धताअनुसार लगानी गर्न नसकेको उनले जनाए । ‘राजनीतिक अस्थिरता, स्थानीयवासीको अवरोध र जलविद्युत्को अनुमतिपत्र लिएर मात्र बस्ने प्रवृत्तिले अधिकांश आयोजनाको गति सुस्त छ,’ उनले भने, ‘यद्यपि, विभिन्न अवरोधका बीच पनि काम भइरहेको छ, एक/दुई वर्षमै परिणाम देखिन्छ ।’

    राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले कुल लगानीको न्यूनतम २० प्रतिशत उत्पादनमूलक क्षेत्रमा, त्यसको न्यूनतम १५ प्रतिशत कृषि र ऊर्जा क्षेत्रमा ऋण प्रवाह गर्नुपर्छ । यसअघि कृषि र ऊर्जामा न्यूनतम १२ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था रहेकोमा चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको हो । यसका लागि बैंकहरूलाई ०७४ असारसम्मको समयावधि दिइएको छ । तर, बैंकहरूले हालसम्म ०७२ असारसम्ममा कृषि र ऊर्जामा गर्नुपर्ने १२ प्रतिशतको निर्देशन पनि पूरा गरेका छैनन् । गत जेठसम्म बैंकहरूले कृषिमा ७.१ र ऊर्जामा ३ प्रतिशत गरी १०.१ प्रतिशत मात्र लगानी गरेका छन् । यसरी निर्देशन पालना नगर्दा पनि राष्ट्र बैंकले कुनै बैंकलाई कारबाही गरेको छैन । बरु उक्त क्षेत्रमा भएको प्रतिबद्धतालाई पनि लगानीमा गणना गर्न पाउने व्यवस्था गरेको छ । यसले निर्देशन पालना नगर्दा पनि राष्ट्र बैंकले कारबाही गर्न सक्दैन भन्ने छाप बैंकहरूमा बसेको छ ।

    राष्ट्र बैंकका अनुसार गत वैशाखसम्म बैंकहरूले कुल लगानीको १७.३ प्रतिशत मात्र उत्पादनशील क्षेत्रमा प्रवाह गरेका छन् । यही असार मसान्तसम्म बैंकहरूले यस्तो लगानी २० प्रतिशत पुर्याउनुपर्छ । तर, हालसम्मको स्थिति हेर्दा करिब १५ दिनमा बैंकहरूले उक्त सीमा पुर्याउने सम्भावना निकै कम भएको जानकारहरू बताउँछन् । यद्यपि, हाल बैंक तथा वित्तीय संस्थाबाट जलविद्युत्मा करिब डेढ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको बैंकर्स संघको तथ्यांक छ ।

    पछिल्लो समयमा जलविद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढे पनि त्यो पर्याप्त नभएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । ‘यो क्षेत्रमा वित्तीय क्षेत्रको लगानी सकारात्मक छ । तर, बैंक तथा वित्तीय संस्थाको संख्या र बचत बढे अनुसार जलविद्युत्मा लगानी बढ्न सकेन,’ एक सार्वजनिक कार्यक्रममा उनले भने । ‘अपबाद बाहेक, जलविद्युत्को लगानी जोखिममा छैन । यसकारण यो क्षेत्रमा लगानी बढाउन बैंकहरूले कन्जुस्याइँ गर्नु हुँदैन,’ थापाले थपे । सम्झौताअनुसार बैंकले आयोजना निर्माणका आधारमा चरणबद्ध रूपमा ऋण भुक्तानी गर्दै जानुपर्ने र आयोजनालाई ती सर्त पूरा गर्नै धेरै समय लाग्ने भएकाले प्रतिबद्धताको निकै कम मात्र प्रवाह भएको बैंकरहरूले बताएका छन् ।

    स्रोत:कान्तिपुर