चिनी मिलबाट ३० मेगावाट विद्युत् उत्पादनको सम्भावना

    1306

    सरकारले प्राथमिकता नदिँदा उत्पादन गर्न सकिएन : व्यवसायी


    फागुन १४ , काठमाडौं । मुलुकभर सञ्चालनमा रहेका १० चिनी मिलबाट तत्काल ३० मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना देखिएको छ । सरकारले अनुकूल वातावरण बनाउने हो भने चिनी मिलहरूबाट तत्काल सो क्षमताको विद्युत् उत्पादन गर्न सकिने नेपाल चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले अभियानलाई बताए । उनले भने, ‘सरकारले  प्राथमिकता नदिएका कारण मिलबाट उत्पादित विद्युत् अहिले खेर गइरहेको छ ।’ आफुहरूले उत्पादन गरेको विद्युत् राज्यले किन्ने प्रत्याभूति गरे लगानी थपेरै भए पनि विद्युत् उत्पादन गर्ने सम्बद्ध व्यवसायीहरूको भनाइ छ ।

    सरकारले हिउँदमा लोडशेडिङ कम गर्न थर्मल प्लाण्टबाट समेत विद्युत् उत्पादन गर्ने तयारी गर्दै आएको छ । थर्मल प्लाण्टबाट विद्युत् उत्पादन गर्दा प्रतियुनिट करीब ३० रुपैयाँसम्म पर्ने अग्रवालले बताए । उनले भने, तर सरकार चिनी मिलबाट उत्पादित विद्युत्लाई प्रतियुनिट ८ रुपैयाँ ४० पैसा तिर्न पनि तयार छैन ।’ थर्मल प्लाण्टबाट उत्पादित विद्युत्भन्दा एक चौथाइ सस्तो दरमा विद्युत् उपलब्ध गराउन चिनी मिलहरू तयार रहेको उनको भनाइ छ ।

    पहिलोपटक एभरेष्ट चिनी मिलबाट उत्पादित विद्युत् खरीद गर्न नेपाल विद्यत् प्राधिकरण सहमत भएको थियो । ‘मिलबाट उत्पादित १ दशमलव ५ मेगावाट विद्युत् खरीद गर्ने सहमति भइसकेको छ,’ प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले भने, ‘उत्पादित विद्युत् जडानका लागि कनेक्शन एग्रिमेण्ट हुने तयारीमा छ ।’ सो मिलबाट उत्पादित विद्युत् प्रसारण लाइनमा जोड्ने काम भए भोलिका दिनमा नयाँ सम्भावनाका लागि बाटो खुल्ने व्यवसायीहरू बताउँछन् । अधिकांश चिनी उद्योगले आफुले उत्पादन गर्ने विद्युत्को झण्डै ५० देखि ६० प्रतिशत मात्र खपत गर्ने गरेका छन् ।

    ‘सरकारको बेवास्ताका कारण चिनी मिलबाट उत्पादित विद्युत् खेर गइरहेको छ,’ एभरेष्ट चिनी मिलका सञ्चालकसमेत रहेका अग्रवालले भने, ‘१ सय मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्दा सुक्खायाममा ३० मेगावाट मात्र विद्युत् उत्पादन गर्न सक्छन्, त्यति विद्युत् चिनी उद्योगले तत्काल दिन सक्छन् ।’

    विद्युत् उत्पादनसमेत गर्न सक्ने उद्योगलाई सहुलितत दरमा ऋणलगायत सुविधा आवश्यक रहेको उद्योगीहरूको भनाइ छ । उनीहरूका अनुसार सरकारले विद्युत् उत्पादन गर्ने उद्योगहरूका लागि केही सहुलियत व्यवस्था गरिदिने हो भने खुलिसकेका मात्र होइन खुल्ने क्रममा रहेका उद्योगहरूले समेत विद्युत्मा आत्मनिर्भर हुनका लागि त्यसैअनुसारको पूर्वाधार निर्माण गर्न सक्छन् । हाल सिराहामा हिमाल चिनी मिल, सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड एग्रो इण्डष्ट्रिज प्रालि, मोरङमा पद्मा सुगर एलाइड इण्डष्ट्री र नवलपरासीमा सीता सुगर मिल स्थापना हुने क्रममा छन् ।

    इन्दिरा सुगर एण्ड एग्रो इण्डष्ट्रिज प्रालि र वाग्मती खाँडसारी चिनी मिलले ५ मेगावाट विद्युत् विक्री गर्न सकिने बताउँदै आएका छन् । त्यस्तै, एभरेष्ट सुगर मिलले सिरहामा १२ मेगावाट विद्युत् विक्री गर्न सक्ने क्षमताको अर्को चिनी उद्योग स्थापनाको तयारी गरेको अग्रवालले बताए ।

    चिनी मिलमा को–जेनेरेशन प्रविधि मार्फत उखु पेलेपछि निस्किएको खोष्टा बालेर बोयलरबाट निस्किएको उच्च बाफबाट टर्वाइन चलाएर विद्युत् निकाल्न सकिन्छ ।  उच्च चापयुक्त बाफ चिनी पकाउन र विद्युत् निकाल्न प्रयोग हुन्छ । जति बढी चाप क्षमताको बोयलर हुन्छ, त्यति नै बढी विद्युत् उत्पादन हुन्छ । बोयलरबाट निस्किएको बाफले टर्वाइन चलाउँछ र त्यसबाट विद्युत् उत्पादन हुन्छ ।

    प्रस्तुति: अभियान