चमेलिया जलविद्युत् आयोजना – सुपरिवेक्षण रद्द गर्ने परामर्शदाताको चेतावनी

    1370
    Chameliya Powerhouse Site
    Chameliya Powerhouse Site

    काठमाडौं, १६ फागुन – परामर्शदाता कोरियाको समन कर्पोरेसनले समयमा भुक्तानी नपाएको र थपिएको समयको क्षतिपूर्ति नपाएको भन्दै चमेलिया जलविद्युत् आयोजनाको हाइड्रो इलेक्ट्रोमेकानिकल र प्रसारणलाइनको सुपरिवेक्षण सम्झौता रद्द गर्ने चेतावनी दिएको छ ।
    समनले एक साताअघि चमेलिया जलविद्युत् आयोजनालाई पत्राचार गरी यस्तो जानकारी दिएको हो । पत्रमा समनले परामर्शदाताले मागेको क्षतिपूर्ति स्वीकार नगरी १३ लाख ५९ हजार ६ सय ५० अमेरिकी डलर मात्र स्वीकृत गरेको जिकिर गर्दै उसले यस्तो अवस्थामा काम गर्न नसक्ने स्पष्ट पारेको छ ।
    आयोजनाको निर्माणकार्य सन् २०११ को डिसेम्बरमा सकिनुपर्नेमा समय थप भएपछि क्षतिपूर्ति पाउनुपर्ने उसको जिकिर छ । परामर्शदाताले सम्झौता रद्द गर्ने भनेपछि आयोजना थप अन्योलमा पर्ने सम्भावना बढेको छ । चाइना गेजुवा ग्रुप लिमिटेडले निर्धारित समयमा काम सम्पन्न नगरेकाले अहिले यस्तो अवस्था आएको हो ।
    आयोजना प्रमुख राजेन्द्र मानन्धरले भने समनबाट सम्झौता रद्द गर्ने पत्र नपाएको जिकिर गरे । उनले सञ्चालक समितिबाट उसलाई भुक्तानी गर्ने रकम स्विकृत भइसकेको जानकारी दिए । कोरियाको निर्यात आयात (एक्जिम) बैंकबाट सहमति आउनासाथ समनले भुक्तानी पाउने उनले बताए ।
    निर्धारित समयमा आयोजनाको सिभिल निर्माण नभएर हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काममा ढिलाइ भएपछि यी कामको जिम्मा लिएको कोरियाको केएचएनपी कनसोर्टिएमले १ करोड अमेरिकी डलर दाबी माग पेस गरिसकेको छ । केएचएनपी कोरिया सरकारको कम्पनी भएकाले उसले ढिलाइ भए पनि ठेक्का तोड्न नसकेको हो ।
    आयोजनाको समय लम्बिएपछि लागत पनि १२ अर्ब रुपैयाँ पुगिसकेको छ । आयोजना ७ अर्ब रुपैयाँ सक्ने लक्ष्य नेपाल विद्युत् प्राधिकरणले लिएको थियो ।
    केएचएनपीले आयोजनालाई आवश्यक पर्ने हाइड्रो र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति गरिसकेको छ । कतिपय उपकरण एयरकन्डिसनमा राख्नुपर्ने भएकाले लागत बढेको सम्बद्ध कम्पनीले जनाएको छ । यस्तै यी उपकरणका लागि थप जनशक्ति राख्नुपरेकाले पनि केएचएनपीको लागत बढेको छ ।

    प्रस्तुति: कारोवार