अर्घाखाँचीमा अनियमित विद्युत् कटौती

    1589

    जिल्लामा अनियमित रूपमा विद्युत् कटौती हुँदा स्थानीयले हैरानी खेप्नुपरेको छ । अनियमित विद्युत् कटौतीका कारण उद्योगी–व्यवसायी, मिडिया सञ्चालक र सरकारी कार्यालयका काम प्रभावित भएका छन् । विद्यार्थीलाई पठनपाठनमा समेत समस्या भइरहेको छ ।

    जिल्ला लोडसेडिङमुक्त भएको पनि लामो समय भएको छ । लोडसेडिङको मार खेप्न नपर्दा खुसी भएका जिल्लावासी पछिल्ला दिनमा भएको अघोषित लोडसेडिङका कारण चिन्तित मात्र छैनन्, आक्रोशित पनि बन्दै गएका छन् । देउराली कपास उद्योगका सञ्चालक तिलक नेपालीले भने, ‘काम गर्न नसकिने भयो, एक घन्टामै पाँच–सातपटकसम्म विद्युत् आउने र जाने क्रम चलेको छ, विद्युत् आयो भनेर काममा लाग्दालाग्दै विद्युत् गइसकेको हुन्छ ।’

    विद्युत् प्राधिकरणका कर्मचारी भने विद्युत् अवरुद्ध हुनुका पछाडि विभिन्न कारण रहेको बताउँछन् । जिल्ला प्राविधिक कार्यालयका कार्यालय प्रमुख पवन शाहले भने, ‘६० जना कर्मचारी आवश्यक रहेकोमा २६ जना कर्मचारी कार्यरत छन् ।

    एउटा ट्रान्सफर्मरमा समस्या आउँदा सबै ठाउँमा विद्युत् अवरुद्ध हुने, कार्यालयको सवारीसाधन बिग्रेका कारण मोटरसाइकलको यात्राबाट सेवा दिनुपर्ने, प्युठान, बुटवल, पाल्पा, गुल्मीबाट विद्युत् आउने भएकाले बाहिरी जिल्लामा समस्या आउँदा पनि विद्युत् अवरुद्ध हुने, हावाहुरीलगायत अन्य प्राविधिक समस्याका कारण विद्युत् नियमित हुन नसकेको विद्युत् प्राधिकरण अर्घाखाँचीले जनाएको छ ।

    स्रोत:नयाँपत्रीका