अघि बढ्यो मध्यभोटेकोसी

    1114

    फाल्गुन २२, २०७३- स्थानीय अवरोध, जुरे पहिरो, भूकम्प र बाढीका कारण अघि बढ्न नसकेको १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको निर्माणले तीव्रता पाएको छ । मुआब्जा वितरण र निजी जमिन अधिग्रहणका कारण तीन वर्षयता रोकिएको बाँधस्थलको निर्माणले सुरु भएको छ । निर्माणका क्रममा डाइभर्सन र अर्डिटसहित ८ किमि सुरुङ बनाउनुपर्छ । भूकम्पमा उक्त आयोजनास्थलमा पहिरो गएपछि निर्माण संरचनालाई क्षति पुर्‍याएको थियो ।

    क्षति पुर्‍याएका आवास भवनसहितका अन्य संरचना निर्माण भइसकेका छन् । ‘हेडवक्र्स र टनेलको काम एकै पटक सुरु गरेका छौं,’ आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीरामराज पाण्डेले भने, ‘मुआब्जालगायत स्थानीय समस्या सुल्झँदै गएको छ ।’ चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवद्र्धक रहेको उक्त आयोजना सन् २०१४ मा सुरु भई ०१७ मा पूरा गर्ने लक्ष्य रहेको छ ।

    यस अघि ०१३ मा सुरु गरी ०१६ मा पूरा गर्ने लक्ष्य राखिएको थियो । सिभिल र हाइड्रो मेकानिकलको सबै कामको जिम्मेवारी चिनियाँ ठेकेदार कम्पनी ग्वान्सिङ हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोलाई दिइएको छ । आयोजनाका साइट इन्चार्ज इन्जिनियर सञ्जय सापकोटाका अनुसार ६ स्थानबाट सुरुङ निर्माण सुरु गरिएको छ । मुख्य सुरुङ १ दशमलव ५ किमि निर्माण भइसकेको छ । यही रफ्तारमा काम हुने हो भने दुई वर्षमा सुरुङ निर्माण सकिनेछ ।

    आयोजनाको लागत करिब १३ अर्ब छ । आयोजनाले ०६८ कात्तिकमा विद्युत् प्राधिकरणसँग खरिद सम्झौता (पीपीए) गरेको थियो । मार्मिनको चाकुमा बाँध र गातीको जम्बुमा विद्युत्गृह निर्माण गरिने आयोजनाको लागत १४ अर्ब रुपैयाँ छ । उत्पादन सुरु गरेपछि मासिक ३० करोड आम्दानी गर्ने लक्ष्य राखिएको आयोजनामा गाविस, जिविस, प्रभावित बासिन्दा र जिल्लावासीलाई सेयर प्रदान गर्ने नीति छ ।

    हाल चिलिमे, कर्मचारी सञ्चय कोष तथा स्थानीयले लगानी गरेका छन् । आयोजनाका अध्यक्ष तथा प्रबन्धक सञ्चालक कुलमान घिसिङलाई २०७१ साउनमा तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले हटाएपछि कर्मचारी र राजनीतिक दलहरूबीचको दूरी बढ्दै गएको थियो । कुलमान हटाएपछि मन्त्रालयले पठाएका कर्मचारीले आयोजनाको निर्माण सहज रूपमा अघि बढाउन नसक्दा समस्या सुल्झिन सकेको थिएन ।

    स्रोत:कान्तिपुर